नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा १५ जनाको डुबेर मृत्यु
एजेन्सी
१६ भदौ, काठमाडौं । नाइजेरियाको उत्तरी राज्य जाम्फारामा भएको सामूहिक हिंसाबाट भागेका कम्तीमा १५ जनाको नदीमा डुङ्गा पल्टिँदा मृत्यु भएको अधिकारी र आफूलाई प्रत्यक्षदर्शी भएको बताउने एक स्थानीय बासिन्दाले आइतबार एएफपीलाई जानकारी दिएका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आपराधिक गिरोहले आतङ्क मच्चाइरहेका, गाईवस्तु चोरिरहेका, गाउँहरूमा लुट र आगजनी गरिरहेका र फिरौतीका लागि अपहरण गरिरहेका छन्। गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ ।
नसरवार किर्फी गाउँका प्रमुख मोहम्मदु चिगारीले भने, “नदी तर्ने क्रममा डुङ्गा पल्टिँदा १५ जना यात्रुको डुबेर मृत्यु भएको हो ।” मृत्यु हुनेमा आठ महिला, तीन बालबालिका र चार पुरुष रहेका छन् भने तीन जनाको उद्धार गरिएको चिगारीले बताउए । डाँकुको आक्रमणपछि दमागा, तुङ्गर मैगुनिया र नसरवार किर्फी गाउँका बासिन्दा घरबाट भागेको अर्का स्थानीय सुलेमान दङ्गालादिमाले जानकारी दिए । नाइजेरियाको आपतकालीन निकाय नेमाका निर्देशक अलियु शेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा गएर सूचना सङ्कलन गर्ने र बाँचेकाहरूलाई सहयोग गर्ने योजना बनाइरहेको बताए ।