नेपालमा जेन्जी बिद्रोहको कारणसँग बिगत
कल्पना शाक्य, काठमाडौं
(अधिवक्ता)
सन् १९१४ २८ जुनका दिन एक १९ वर्षीय युगोस्लाभिकियन स्कूले विद्यार्थी गाभ्रिलो प्रिन्सकीपले अस्ट्रो हंगेरियनका राजकुमारको गोली हानेर हत्या गरिदिन्छ । त्यसै हत्याको कारण युद्ध छेडिन्छ जुन ४ वर्षसम्म चल्छ र २ करोड भन्दा बढी मानिसको मृत्यु हुन्छ । यही एक घटनाको कारण प्रथम विश्वयुद्धको जन्म हन्छ, हेर्दाखेरी यस्तो देखिएतापनि यत्रो ठूलो युद्ध हुनुको पछाडि धेरै पहिलेदेखि कारणको बिऊ रोपिएको हुन्छ, कारणहरु थपिदै गएको हुन्छ । अनि फेरी कुनै एउटा घटना घट्छ चाहे सानै किन नहोस जसबाट ठूलै क्रान्ति अथवा युद्धको शुरुवात हुन्छ । मानौं एउटा डायनामाइटको पहाड छ त्यसमा एउटा सानो सलाईको काँटी फालेपछि डायनामाइट् विस्फोट हुन्छ तर वास्तवमा सलाईको कारणबाट बिस्फोट भएको नभई पहिलादेखि बिद्यमान डायनामाइटको कारण बिस्फोट भएको हो ।
नेपालमा भरखरै भएको सत्तै पल्टाउने गरी ‘जेनेरेशन जी’ अर्थात जेन्जी समुहले गरिएको आन्दोलन सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धको कारण भएको जस्तो देखिएतापनि प्रजातन्त्र प्राप्ति पश्चात २०४६ साल देखिकै दलीय अकर्र्मण्यता, २०६३ सालपछिको माओवादीको खुला राजनीतीमा प्रवेशपछिको गणतन्त्रीय लोकतान्त्रिक व्यवस्था पनि झन् झन् निरंकूशता तर्फ बढीरहेको राजनीतिबाट जनताहरु वाक्क, दिक्क, प्याक्क भएर थुक्क गर्ने अवस्थासम्म आईपुग्नुनै मुख्य कारण हो ।
लोकतन्त्रले जनतालाई बोल्ने बिरोध गर्ने अधिकार त दियो तर जनताको बोली नेतृत्व तहबाट सुन्दै सुनिएन । कानमा तेल हालेर बसियो, एउटा कानबाट सुनेर अर्को कानबाट उडाईयो । त्यसपछि जनता बोल्नु ब्यर्थ हुन थाल्यो । तिमीहरु जति कराओ जति उफ्र फेरी पनि चुनाव हामीले नै जित्ने हो भन्ने आत्मविश्वास र अहमले गर्दा नेताहरु मनपरी गर्नबाट टसकामस भएनन् । लोकतन्त्र होईन मनपरितन्त्र चलाईरहे । ४६ साल देखिनै जतिनैसुकै भ्रष्टाचारका काण्ड घटुन् ठूलाठूला भ्रष्ट्राचारका मुद्दामा दोषिले सधै सफाई पाईरहे । कानुन सानालाई ऐन ठूलालाई चैन बनेर रह्यो ।
पछिल्लो समयमा बालेन शाह, हर्क साम्पाङ्, गोपाल हमाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुको लोकप्रियताबाट भने भूत देखे जस्तै बूढा नेताहरु तर्सिन थाले । जनताको ब्यापक बिरोध हुँदाहुँदै पनि कुलमन घिसिङ्लाई उनको लोकप्रियताको आरिसै आरिसले र आफुहरुले ईन्भर्टर र सोलार व्यवसायीकाट कमिशन खान नपाएपछिको झोकमा बिद्युत प्राधिकरणबाट बिदाई गरेर आफ्ना खेलौना हितेन्द्रमान शाक्यलाई नियुक्ति दिए । कुलमानले नाफामा लगेको संस्थालाई ती खेलौनाले नियुक्ति पाएको भोलीपल्टै घाटा देखाईदिए र अघोषित लोडसेडिङ् पनि शुरु गरे । यस्तै यस्तै घटनाक्रमहरुबाट लोकतन्त्र निरंकुशतन्त्र बनिसकेको भान जनताले पाईसकेका थिए । लोकप्रिय युवापुस्ताको उदय पश्चात भने जनतालाई “कहाँ जालास ढडिया मेरै पञ्जामा” भनेर जिस्काईरहेका पुराना नेताहरु आगामी चुनाव हारिने शंकाले शाम दाम दण्ड भेद अपनाएर नयाँ जतिलाई फसाउने षडयन्त्र बुन्नमै तल्लीन रहे र राजनीतिक प्रतिसोध राखेर खत्तम पार्ने दौडमा लागे ।
श्रीलंका, बङ्गलादेशमा भएको र ईएण्डोनेशियामा भईरहेको जनता नेताको घरघरमै गई घिसार्दै कुटेको लखेटेको र सत्ता नै पल्टाएको घटना सबैले देखैकै हो । तर नेपालका ज्याद्रो नेताहरुलाई नेपाली जनताले पनि यसो गर्न सक्नेमा विश्वासै थिएन । ३६ वर्षदेखि आफुहरुले जतिसुकै अन्याय, अत्याचार, भ्रष्टाचार गरे पनि चुनाव जित्दै आएकोले यिनीहरु सम्पत्ति र शक्तिको आडमा अन्धा भईसकेका थिए शायद । तर हालसालै ईएण्डोनेशियाली जनताले नेताका छोराछोारीको बिलासी जिवनको बिरोधबाट शुरु हुँदै श्रीलंका र बंगलादेशमा जस्तै बिध्वंश मच्चाउन थाले नेपाली जेन्जी पुस्ताले पनि नेताको छोराछोरीको अम्बानी परिवार सहरको लाईफ स्टाईलमाथि प्रश्न उठाउँन थालेपछि भने शायद आगामी चुनाव हारिने डरले सातो गएर सामाजिक सञ्जालनै बन्द गर्ने निर्णय गरे ।
पढ्न दिए भने बाठा हुन्छन्, बुझ्ने भएपछि हाम्रो शासनको बिरोध गर्छन भनेर जनताका छोराछोरीलाई पढ्न नदिने राणा शासन र सामाजिक सञ्जालको प्रयोगबाट देश विदेशमा घटित राजनीतिक परिस्थितिका बारे बुझ्छन् अनि हाम्रो पनि पत्तासाफ गर्न सक्छन् भनेर जनतालाई सूचनाको हकबाट कुण्ठित गर्न खोज्ने कथित लोकतन्त्रको ठेकेदार भनौदा तिमी नेताहरुमा के फरक रह्यो र?
के फेरी राणा शासन फर्काउनलाई नेपालीले राजा फालेका हुन र? उखान बोलिरहन्थे “केटाकेटी आए गुलेली खेलाए मट्याङ्खरा सत्यानास” भन्दै । आज तिमी बुढाहरुभन्दा धेरै बुद्धिमता र सुझबुझ देखाए ति केटाकेटीरुले । तिमी बुढाहहरुको अनुभवले नेपाली जनतालाई के दिन सक्यौ आजसम्म? विश्वसामु के ईज्जत जोगाउन सक्यौ जहाँ जादा पनि हात जोरेर भिख मागेर आउँछौ, भारतको राजदूतको नोकर को हैसियत राख्छौ यो भन्दा धेरै तिमीहरुको अनुभवले के ख्यासेका छौ? आन्दोलनको दोश्रो दिन जुन विध्वंश भयो त्यो जेन्जीले गरेको थिएन । अन्य दलहरु र व्यक्तिहरु घुसेको प्रमाणितै छ । जेन्जीले हात नहाल पुलिसलाई जिम्मा लगाउ भनेर बारम्बार भनि पुलिसलाई जिम्मा नलाएको भए शायद देउवा दम्पति थोरै घाईते मात्र भएर उम्कन पाउदैन थिए होला । उनिहरुको राजनीतिक एजेण्डा, एकदिन अगाडिनै गरिएको शान्तिपूर्ण आन्दोलनको घोषणा, आन्दोलनको पहिलो दिन गरिएको शान्तिपूर्ण बिरोध कार्यक्रमबाट उनिहरुको राजनैतिक चेतना, बौद्धिकता र धैर्यवानताको परिक्षामा उनीहरु पास भईसकेका छन् ।
अर्को तर्फ निहत्था युवाहरुको टाउकोमै गोली प्रहार गर्ने नालायक सरकारको निरंकुशता पनि प्रमाणित भईसकेको छ । दोश्रो दिन भएको निरंकुश भ्रष्टाचारीहरुको निजी सम्पत्तिमा आगजनि हुनुमा अन्य शक्तिहरुको हात भएको शंका गरिएतापनि १८ जनाको हत्याको अगाडि सिन्को भाँचेजति पनि भएन । तर सत्तामा बसेका सबै भ्रष्टाचारी थिएनन् होला भ्रष्ट बाहेकका अरुको घर जल्नु, सरकारी सम्पत्तिमा आगलागी र जेल तोड्नु कैदी भगाउनु, निजी निवास जलाउदा घरभित्रै रहेका मानिस जल्नु त्यो दुःखद घटना हो । तर यसको दोष जेन्जीलाई नदिऊ । यसमा आफुहरुको संलग्नता नरहेको कुरा उनीहरुले बारबार पुष्टि गरिसकेका छन् । घटनास्थलको भिडीयोहरु हेर्दा पनि यो कुरा प्रमाणित हुन्छ । सदियौंदेखिको ईतिहास हेर्दा पुष्टि भईसकेको कुरा हो कलिला युवाहरुकै कारण ठूलाठूला क्रान्ति सफल भएका छन् । नेपालका जेन्जी पनि देशमा निकाकसकोक बाटो खोल्न सफल भयो अब यी निरंकुश नेताहरुलाई राजिनामा दिएकै भरमा छाड्ने हो भने भोलीको पुस्ताले पनि परिघटना नदोहोर्याउलान भन्न सकिन्न । त्यसैले तपाई जेन्जीहरु यिनी देश लुट्नेहरुलाई कानुन कारवाही गर्न मरिमेटेर लाग्नुहोस् ।
अनि अर्को सत्य यो पनि हो कि पद, पैसा र पावर प्राप्त भएपछि मानिसमा घमण्ड पलाउन थाल्छ यो स्वभाविक हो । अहिलेका नेताहरु पनि धेरै वर्ष भुमिगत भएर, जेल जिवन भोगेर देश बनाउँछु भनेरै आएका थिए तर पदमा पुगेपछि पावर हातमा परेपछि आफ्नो लक्ष्य बिर्सिए, पैसा देख्न थालेपछि पुरानो दुःख सबै बिर्सिए । उखाने बाको मात्र कति उखान सुन्नु आज हामी पनि उनलाई उखान सुनाईदिऊ न है “पैसा देखेपछि महादेवको त तिन नेत्र” भन्छन् तिमी नाथे सुकुम्बासीहरुको किना माथा नरन्कीयोस ! रावण प्रकाण्ड बिद्धान थिए, धर्मात्मा थिए, शिवका महान भक्त थिए तर आफ्नो बौद्धिकता, शक्ति, सम्पत्ति, पराक्रम यी सब कारणहरुले गर्दा उनमा पलाएको अहम बढ्रदै जाँदा उनको पतन भयो । हो अब यही कुरा नयाँ पुस्ताले पनि बुझ्नु जरुरी छ । तपाईहरु आजको दिनसम्म जति प्रशंसा गरेपनि नपुग्ने अवस्थामा हुनुहुन्छ, भोली बागडोर तपाईहरुको हातमा पुगेपछि दम्भ र लोभले तपाईहरुलाई अनि भोली चुनाव जितेर आउने जोसुकैलाई पनि छुन सक्छ यसबाट आफूलाई जोगाउनहोस । मेरो गोरुको बाह्रै टक्का भन्ने सोचेर अगाडी बढ्नु हँदैन । किनभने संसारमा सबै कुरा परिवर्तनशिल छ । अब बन्ने सरकारले पनि पुरानैको बाटो अपनाए भने पुन: नयाँ जेन्जीले लखट्नेछन् । त्यसैले तपाईहरु दामको मात्र होईन, नामको पनि लोभ नगर्नुस । निस्वार्थ भावले काम गर्दै जानुहोला तपाईहरुले देशको मुहार फेर्न सक्नुहुनेछ ।
विनाश नभई विकास हुँदैन त्यस्तै हरेक अवसरसँगै चुनौती पनि सँगसँगै आउँछन् । जति ठूलो अवसर त्यति नै ठूलो चुनौति । यो संकटको घडीमा हामीले बुद्धिमता, धैर्यता, संयमता अपनाएनौ भने भारत, चीन र अमेरीकाको हस्तक्षेप छिर्न सक्छ । अबको अवस्था भनेको संक्रमणकालको अवस्था हो । हामी सबै बच्चा, युवा बूढापाका सबै नेपाली मिलेर देशको स्वाभिमान् जोगाऊ । यो लेख लेख्दै गर्दा मेरो कानमा आन्दोलनका सामाजिक सञ्जालमा भेटिएका भिडियो क्लिपहरुमा ब्याकग्राउण्डमा बजिरहेको गीतो लय सहित गुञ्जिरहेको छ, “म नेपाल बाँचेको हेर्न चाहन्छु, म नेपाल हाँसेको हेर्न चाहन्छु”