इजरायलद्वारा गाजा शहरमा सैन्य कारबाही तीव्र
एजेन्सी
१ असोज, काठमाडौं । इजरायलले मङ्गलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचारका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको जानकारी दिएका छन् । यद्यपि केही स्रोतहरूले भने आकाशमार्गबाट गरिएका आक्रमणहरू तिव्र भए पनि हालसम्म घनाबस्ती रहेको उत्तर गाजा सहरमा स्थलगत सेनाको औपचारिक प्रवेश भएको पुष्टि नभएको बताएका छन् ।
गाजास्थित केही स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले सहरमा इजरायली ट्याङ्कहरू देखिएको जानकारी नभएको जनाएका छन् । तर अधिकांश क्षेत्रहरूमा हवाई आक्रमण र मानवरहित विमानद्वारा गरिएका बम आक्रमणहरू निकै तीव्र रूपमा भइरहेको उनीहरूले पुष्टि गरेका छन् । आक्रमणपछि, इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति मार्फत भने, “गाजा अहिले ठूलो संकटमा छ । हाम्रो सेना आतङ्ककारी संरचना विरुद्ध कठोर कारबाही गर्दैछ, जसको उद्देश्य बन्दीहरूको सुरक्षित मुक्तिको सुनिश्चितता र हमासको अन्त्य गर्नु हो ।”
उनले भने, “हामी हाम्रो उद्देश्य पूरा नभएसम्म पछि हट्ने छैनौं ।” प्यालेस्टिनी सरकारी समाचार संस्था वाफा ले पनि सोमबार रातिदेखि इजरायली सेनाले गाजा सहरमाथि आक्रमणलाई तीव्र बनाएको जानकारी दिएको छ । स्थानीय स्रोतहरूको हवाला दिँदै वाफाले लगभग निरन्तर बमबारी भइरहेको उल्लेख गरेको छ । इजरायली सेनाको रेडियो प्रसारण अनुसार, हालसम्म करिब तीन लाखभन्दा बढी गाजा सहरका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भइसकेका छन् । गाजा सहरमा करिब १० लाख मानिसको बसोबास रहेको मानिन्छ ।
सोमबार, अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुबियोले इजरायल भ्रमणको क्रममा पत्रकार सम्मेलनमा भने, “गाजाका जनताले राम्रो र शान्तिपूर्ण भविष्यको अधिकार राख्छन् । तर त्यो सम्भव हमासको अन्त्य भएपछि मात्र हुनेछ।” उनले इजरायललाई पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए । यसअघि साउन महिनामा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रणमा लिने योजना पारित गरेको थियो । इजरायली सेनाका प्रवक्ताले हाल गाजा सहरको करिब ४० प्रतिशत भू–भाग सेनाको नियन्त्रणमा रहेको र आगामी दिनमा कारबाही अझ तीव्र हुने जानकारी दिए ।