केप कड मासाचुसेट्समा दशैं शुभकामना साँझ २०८२ सम्पन्न
केप कड । नेपाली समाजले आयोजना गरेको दशैं शुभकामना साँझ, २०८२ समाजका अध्यक्ष, केबी राईको सभापतित्वमा यही सेप्टेम्बर महिनाको २६ तारीख, शनिवारका दिन केप कड, हायनिसस्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा कार्यक्रम संचालन गर्नुभएको थियो।

हालसालै नेपालमा भएको जेन-जी हरूको आवाहनमा भएको आन्दोलनमा सदाहत प्राप्त गर्नुहुनेहरूको संझनामा १ मिनट मौनधारण गरि वहाँहरूको आत्माको चिरशान्तिको कामना गर्नुको साथै आन्दोलनको क्रममा घाइते हुनुभएकाहरूको शीघ्र पुर्ण स्वास्थ्यलाभको कामना गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो।


समाजका बरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुको साथै बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो भने संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष हरी राईले पनि शुभकामना मनतब्य दिनु भएको थियो ।

यसैगरि, केपकड नेपाली समुदायमा बसोबास गर्नुहुने ७० वर्ष वा सो भन्दा माथिका जेष्ठ नागरिकहरूलाई खादा ओडाएर सम्मान गरिएको थियो।


साना नानी बाबुहरूद्वारा गाईएको नेपाली र अमेरिकी राष्ट्रिय गित तथा स्थानिय कलाकारहरूद्वारा प्रस्तुत गरिएको विभिन्न बिशेष सांस्कृतिक गतिविधिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो भने डीजेको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनकता बढाएको थियो।


कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा यस कार्यक्रमका सभापति केबी राईले उपस्थित सबैलाई बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना दिनुको साथै यस कार्यक्रमलाई सफल पार्न आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण प्रायोजकहरू, खाना ब्यवस्थापन गर्ने टिम, सांस्कृतिक कार्यक्रममा सहभागि हुनुभएका सम्पूर्ण कलाकारहरू, स्वयंसेवीहरू साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने समुदायका आदरणीय ब्यक्तित्वहरू, ब्यवसायीहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।