युरोपमा स्वचालित सीमा जाँच सुरु
ब्रसेल्स, बेल्जियम, २६ असोज (रासस\एएफपी)
युरोपको सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने गैर–इयू यात्रीहरूको गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्न भन्दै आइतबारदेखि स्वचालित सीमा जाँच सुरु गरिएको छ। स्वचालित सीमा जाँच सेवा सञ्चालनमा आएसँगै सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको फोटो खिचिनेछ र औठा छाप लिइनेछ । युरोपेली सङ्घले सीमा सुरक्षा र अवैध आप्रबासीहरूको प्रवेशमा नियन्त्रणका लागि भन्दै यो सेवा पहिले नै सुरू गर्ने तयारी गरेको भएपनि विविध कारण देखाउँदै धेरै ढिलो गरी स्वचालित सीमा जाँच सेवा सुरु गरेको हो ।
नयाँ प्रणालीको उद्देश्य अन्ततः पासपोर्टमा हुने ‘म्यानुअल स्ट्याम्प’लाई प्रतिस्थापन गर्नु र इयू समूहका २७ राज्यहरूबीच राम्रो सूचना–साझेदारी सुरक्षित गर्नु हो। सीमा–जाँच प्रणालीले अधिकारीहरूलाई कुनै देशमा प्रवेश गर्ने र बाहिर निस्कने व्यक्तिहरू कहिले प्रवेश गरे भनेर जान्न अनुमति दिनेछ। यसको उद्देश्य भिसामा स्वीकृति प्राप्त समयभन्दा बढी बस्ने मानिसहरूबारे जानकारी प्राप्त गर्ने र प्रवेश गर्न अस्वीकार गर्ने व्यक्तिबारे सूचना पत्ता लगाउनु हो।
लगभग एक दशकदेखि तातो बहस बनेको यो सेवा सञ्चालनले यातायात प्रदायक र यात्रुहरूमा चिन्ता बढाएको छ। जाँच प्रक्रियाले विमानस्थल र रेल स्टेशनहरूमा लामो लाइनहरू निम्त्याउन सक्छ भन्ने भय सिर्जना गरेको छ । अवरोधहरू सीमित गर्न त्यहाँ चरणबद्ध विस्तारित सेवालाई सञ्चालनमा ल्याइनेछ । सेवाको पहिलो चरण आइतबारदेखि सुरु गरिएको हो।
साइप्रस र आयरल्याण्ड बाहेक इयू देशहरूमा छोटो बसाइका लागि आउने गैर–इयू नागरिकहरूलाई जाँच केन्द्रमा उनीहरूको पासपोर्ट नम्बरको लागि सोधिनेछ, औंठाछापहरू प्रदान गर्न र उनीहरूको फोटो लिइनेछ।
आइसल्याण्ड, लिच्टेन्स्टाइन, नर्वे (युरोपेली संघसहित युरोपेली आर्थिक क्षेत्रका सदस्य राष्ट्रहरू) र स्विट्जरल्यान्डमा पनि यही सर्तहरू लागू हुनेछन्।
फ्रान्स र जर्मनी लगायत इयूका ठूला देशहरूले विमानहरूमा ठूलो लाइनबाट बच्न सुरुमा सीमित चेकहरू मात्र गरिने बताइएको छ । केही साना सदस्य राष्ट्रहरूले आइतबारदेखि यो प्रणाली पूर्ण रूपमा लागू गरेका छन्।
सदस्य राष्ट्रहरूले अप्रिलको मध्यसम्म उनीहरूको सीमामा सबै यात्रुहरूको लागि स्वचालित जाँच प्रयोग गर्न पाउनेछन्। सबैको आँखा बेलायतको सीमामा केन्द्रित हुनेछ किनकि ब्रेक्जिटपछि अब इयूका नागरिक रहनका लागि बेलायतीमा बसोबास गर्दै आएका इयूका नागरिकहरू पनि नयाँ जाँचको अधीनमा आउनु पर्नेछ ।
बेलायती अधिकारीहरूले यसअघि नै बेलायती नागरिकहरूलाई सेन्जेन क्षेत्रमा प्रवेश गर्न केही मिनेट थप कुर्नुपर्ने चेतावनी दिइसकेका छन्। च्यानल टनेलका अपरेटर गेटलिङ्क र रेल सेवा यूरोस्टारले सेवाका लागि उनीहरू तयार भएको र प्रणाली सहज रूपमा चल्नेमा विश्वास व्यक्त गरेका छन् । बेलायतमा यात्रुहरूले सीमा पार गर्नु अघि विशेष गरी लन्डनको सेन्ट प्यानक्रास स्टेशन र डोभर बन्दरगाहमा जाँच गरिरहेका थिए। टर्मिनलहरू पहिले नै स्थापना गरिएको थियो।