सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सार्वजनिक स्थलमा देखा परेका छन् । जेन जी आन्दोलनका दौरान देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन उनी आन्दोलनमा जलाइएको पार्टी कार्यालय पुगे । त्यहाँ उनले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए ।
उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गरे । आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उनले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पु¥याउन कांग्रेस सफल भएको बताए ।
“अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु” , सभापति देउवाले भने, “त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नुपर्दछ ।”
मुलुकको यो विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको उल्लेख गर्दै उनले यसले पक्कै पनि सबैलाई स्तव्ध बनाएको उल्लेख गरे । उनले भने, “म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”
‘घुसपैठले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गयो’ गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गएको बताउँदै सभापति देउवाले यस घटनाले आफूलाई मर्माहित बनाएको उल्लेख गरे । गत भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयलगायत राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको अकल्पनीय घटनाको निन्दा गरे । यसबाट जनधनको अपूरणीय क्षति भएको र सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनका रुपमा लिपिबद्ध हुने उनको भनाइ थियो ।
केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कांग्रेस पार्टी कार्यालय र करिब एक सय २५ जना नेता साथीहरुको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको सभापति देउवाले जानकारी गराए । नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थानका रुपमा परिचित विराटनगरस्थित कोइराला निवास, काठमाडाँै चाक्सीबारीस्थित गणेशमानसिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत बनाएको उनले बताए । नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको बताउँदै उहाँले यी दुबै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
सभापति देउवाले गत भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नुभएकामा राष्ट्रपति रामचन्द्र पौडेललाई बैठकमार्फत धन्यवाद दिए । त्यो प्रतिकूल समयमा उनको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को सङ्कट टरेको उनले बताए । जेनजी पुस्ताले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने उनको धारणा थियो । उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्ने र यस विषयमा पनि कांग्रेसको बैठकमा छलफल हुने सभापति देउवाले जानकारी दिए ।
यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेका सभापति देउवाले बताए । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने र यो अनुसन्धान कसैलाई तत्कालीन नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए । देशमा सबै महत्वपूर्ण अङ्गहरुको मनोबल गिरेको अवस्थामा देशका सबै अङ्ग वा निकायको मनोवल उच्च राख्ने गरी काम गर्नुपर्ने र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोवल साथ काम गर्न आह्वान गरे ।
सभापति देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताए । उनले कांग्रेसको एकता आजको आवश्यकता भएको बताउँदै देशमा सङ्कट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्राबीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर एकतावद्ध हुनुपर्ने बताए ।
उनले अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण भएको बताउँदै पार्टीका सबै साथीहरुलाई विषयवस्तुमा व्यापक छलफल गर्न, एकमतका साथ निर्णयमा पुग्न र ठोस् ढङ्गले निर्णयको कार्यान्वयन गर्न आग्रह गरे ।
सभापति देउवाले भने, “पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकै जना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैनन् । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।” आगामी १५औँ महाधिवेशनबाट आफूबाहेक अरु कुनै साथी सभापति बन्नुहुने र त्यसमा द्विविधा नभएको उनले बताए ।
उनले देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकतावद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए । संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको उल्लेख गर्दै सभापति देउवाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको बताउँदै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार हुनुपर्नेमा जोड दिए । “निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्ने र शान्तिपूर्ण निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्तरुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो” उनले भने । यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उनले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास व्यक्त गरे ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थाकावाहक राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उल्लेख गर्दै उनले यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्नुपर्ने आवश्यकता आँैल्याए । मुलुकमा सङ्कट आएका बेला त्यसको निकास पनि कांग्रेसले दिनेगरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढ्न उनले आग्रह गरे ।
आफू किशोर अवस्थादेखि नै राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि अनवरतरुपमा सङघर्षरत रहेको उल्लेख गर्दै उनले भने, “म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ । सांसद, मन्त्री, प्रधानमन्त्री वा कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।”
देशमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको उल्लेख गर्दै सभापति देउवाले आफूले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको बताए । देशमा सङ्कट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले अझै पनि देश र जनताका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । “मैले कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने प्रयास गरेँ, चाहे पार्टीभित्र ‘कदमजम’को नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम् समावेशी बनाउने अभियान नै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु” सभापति देउवाले भने ।
उनले आफूले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएको र पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय रहेको स्पष्ट पारे । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको बताउँदै उनले त्यसका बावजुद पनि कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको अवगत गराए । “सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुतमुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाई गर्व महसुस हुन्छ” , सभापति देउवाले भने, “नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ ।
नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो ।” सभापति देउवाले आफू प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरेको बताए ।

सभापति देउवाले गत भदौ २४ गते सिङ्गो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरिएको र घरमा तोडफोड, लुटपाट र आगजनी भएको, सुरक्षाकर्मीको अथक प्रयासपछि उद्धार गरिएको जानकारी गराए । उनले आफू र आफ्नो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपरेको र त्यतिले नपुगेर कृतिम बौद्धिकता प्रविधिका माध्यमले आफूहरुको प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको भनी दुःख व्यक्त गरे ।
“मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ”, उनले भने, “यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।”
सभापति देउवाले आक्रमणकारीहरुको कब्जाबाट आफूलाई बचाउने घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै उहाँहरूको भूमिका जीवनभर स्मरण गरिरहने उल्लेख गरे । सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको बताए ।
यसलाई ध्यानमा राखी आफ्नो पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ थियो । देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरुसँग पनि वार्ता, संवाद गर्ने उनले बताए । उनले आफ्नो स्वास्थ्यका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको घोषणा गरे । उनले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास पनि व्यक्त गरे ।