विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै
९ कात्तिक, काठमाडौं । नेपाल र अमेरिकाबीच विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला अन्तर्गत आज पहिलो भिडन्त हुँदैछ । खेल यूएईको दुबईमा आयोजना भएको छ । यस श्रृङ्खलामा नेपाल र अमेरिकासहित घरेलु टोली यूएईले प्रतिस्पर्धा गर्दैैछ । दुबई क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो दिनको खेलमा नेपाल र अमेरिका आमने सामने हुँदैछन् । नेपालले ओमानमा गएर ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट जित्दै तेस्रो पटक विश्वकपमा पुगेलगत्तै दुबई पुगेको हो । आईसीसीले गत महिना अमेरिकाको क्रिकेटलाई निलम्बन गरेको थियो ।
आईसीसीले पटकपटक सुधारका लागि चेतावनी दिँदा पनि अमेरिकी क्रिकेट बोर्डले त्यसको सुनुवाइ नगरेपछि निलम्बन गरेको थियो । तर टोलीले भने प्रतियोगिता खेल्न पाउनेछ । त्यसयता अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । अमेरिका २० खेलमा २८ अंक लिएर लिग २ को अंक तालिकामा दोस्रो स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३० अंक जोडि शीर्ष स्थानमा छ । नेपाल १६ खेल खेली १२ अंकसहित सातौं स्थानमा छ । यूएई १३ खेलमा ६ अंक जोडी पुछारमा रहेको छ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ ।