अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार
१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको पाँचौं ठूलो व्यापारिक साझेदार मुलुक रहेको देखिएको छ । चालु आव २०८२\८३ को पहिलो त्रैमासिक (साउन–असोज)तथ्यांक अनुसार अमेरिकासँग तीन महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । अमेरिकाबाट नेपालमा ७ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भने भारत हो ।
भारतबाट ३ महिनामा २ खर्ब ५८ अर्बको वस्तु नेपाल आएको छ । नेपालबाट ५९ अर्ब १२ करोड रुपैयाँ बराबर निर्यात भारततर्फ भएको छ । चीन दोस्रो स्थानमा छ । चीनबाट नेपालमा १ खर्ब ४ अर्बको वस्तु आएको छ । निर्यात भने १८ करोड रुपैयाँको मात्र भएको छ । तेस्रो स्थानमा अर्जेण्टिना रहेको छ । यस मुलुकबाट २७ अर्ब ८९ करोडको सामान नेपाल आएको छ ।
नेपालबाट भने मात्र ५ लाख ८८ हजारको वस्तु निर्यात भएको छ । चौथो स्थानमा यूएइ रहेको छ । यस मुलुकबाट १३ अर्ब ७२ करोडको सामान नेपाल आएको छ । नेपालबाट भने ६१ करोडको वस्तु यूएई निर्यात भएको छ । तीन महिनामा ४ खर्ब ६८ अर्बको कुल आयात भएको छ । ७२ अर्ब ७८ करोडको निर्यात भएको तथ्यांक छ ।