समाचार

महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

१० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतमाथि सानदार जित निकालेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले हरायो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिष्मा श्रीरभोइकारले गोल गरिन् । ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितिसकेको छ । भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् । पहिलो खेलमा नेपाल इरानसँग ३–० ले हारेको थियो । त्यसअघि भारत इरानसँग २–० ले हारेको हो ।