अमेरिकाको न्यूयोर्कमा न्हू दँया भिंतुना र नेपाल सम्वत ११४६ को र्याली सम्पन्न ।
न्युयोर्क
नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा अक्टोवर २५ तारिख २०२५ शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्यालीको आयोजना गरिएको थियो। तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा पर्ने नयाँ वर्ष नियमित रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ मनाउँदै आइरहेको छ भने नेपाल सम्वतलाई नेपाल सरकारले नेपालको राष्ट्रिय सम्वत् को मान्यता दिएको छ ।

न्हू दँया भिंतुना कार्यक्रम सुरु हुनु अगाडि उपस्थित सबैलाई परम्परागत रुपमा टीका, फूल र कोखा वितरणका साथै सगुन स्वरुप अण्डा, माछाको साथमा चिया वितरण गरिएको थियो ।


नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सुरु भएको न्हू दँया भिंतुना कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव तुलसी नारायण चित्रकार र नेवाः गुठी न्युयोर्कका महासचिव सुवर्ण शाक्यले गर्नु भएको थियो । कार्यक्रममा नेवाः गुठीका अध्यक्ष विजय मान सिंले उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो । शंखधर साख्वाले तत्कालिन समयमा सबैको ऋण तिरेर सबैजनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी उहाँले दिनु भयो ।



हिमालयन बुद्धिस्ठ कम्युनिटीका अध्यक्ष हृदय तुलाधर तथा न्युयोर्क सिटी डिस्ट्रिट ३ का काउन्सलर बिरेन्द्र मानन्धरले नेपाल सम्वतको महत्त्व प्रकास पार्नुका साथै शुभकामना व्यक्त गर्नु भयो । नेपाल सम्वत कार्यक्रम र र्याली पहिले कसरी मनाईंथ्यो भन्ने बारेमा डा. मीम लाल नकर्मीले प्रकास पार्नु भयो भने आदिवासी जनजाति महासघ, अमेरिकाका अध्यक्ष तोरण गुरुङ्घले नेपाल सम्वत, राष्ट्रिय सम्वत भएकोले यो कुनै गर्व, जनजातिको मात्रै सम्वत नभैकन सम्पूर्ण नेपालीको सम्वत भएको बताउनु भयो । कार्यक्रममा नेवाः गुठीका सदस्य राजेन्द्र महर्जनले न्हू दँया भिंतुना र्यालीको नाराको बारेमा जानकारी गराउनु भयो ।



कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले नेपाल सम्वत् नयाँ बर्ष मनाउने कसरी सञ्चालनमा आएको र मनाउन शुरु गरेपछि नेपाल सम्वत् लाई मान्यता प्रदान गर्न नेपालमा के कस्तो उपलब्धि हासिल भएको जानकारी दिदै यसको महत्त्व भावी पुस्तासम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले कार्यक्रममा उपस्थित सबै सहभागी, सहयोगी र स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

तत्पश्चात न्हू दँया भिंतुना र्याली सुरु भयो जसमा सयौं जनाको सहभागिता थियो । शंखधर साख्वाको फोटो भएको व्यानर सहित विभिन्न प्लेकार्डका साथमा नेपाल सम्वत सम्बन्धि विभिन्न नारा लगाउँदै र्यालीले न्युर्योकको ज्याक्सन हाइट्स् परिक्रमा गरेको थियो । जातिय पहिरणमा उपस्थित भएका सहभागिहरुका साथमा परम्परागत बाजागाजा, नृत्य सहित भिंतुना र्यालीले नगर परिक्रममा गर्दा धेरैजसो नगरवासीको ध्यान आकर्षण गरेको थियो । कतिपय अमेरिकन तथा अमेरिकामा बसोबास गर्ने अन्य देशका नागरिकहरुले भिंतुना कार्यक्रम र नेपाल सम्वतको बारेमा जानकारीका लागि सोधपुछ गरेका थिए । अमेरिकामा बसोबास गर्ने गैर नेपालीहरुले समेत अभिरुचिपूर्वक र्याली अवलोकन गर्नुका साथै र्यालीको भिडियो रेकर्ड गरेको कुरा नेवाः नखः न्यूयोर्कका पूर्ब अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले जानकारी दिए।