ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता
१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ ।
यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान शहरमा हुनेछ । चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ । ट्रम्प र सी बीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।
ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् । सोही सम्मेलनमा भाग लिनुअघि उनीहरुबीच भेटवार्ता तय भएको हो । ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ । समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र सीको भेटअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ ।
यसलाई चीनका तर्फबाट यस वर्षको अमेरिकी कृषि उपजको पहिलो खरिद भनिएको छ । दुवै देशबीच व्यापारिक शुल्क विवाद चलिरहेको अवस्थामा चीनले अमेरिकाबाट खरिद घटाएको कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइएको छ । यो भेटवार्ताले अमेरिकी(चीन व्यापार युद्धको अन्त्य हुने विश्वास लिइएको छ ।