डायस्पोरा

केप कड नेपाली समाजले मनायो देउसी भैलो ।

केप कड / नेपाली समाजले आयोजना गरेको २०८२ को तिहारको शुभकामना तथा देउसी भैलो कार्यक्रम केप कड नेपाली समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही अक्टूबर महिनाको २१ तारीख, मंगलवारका दिन अमेरिकाको मासाच्युसेट्स, केप कड, हायानीस स्थित Hotel Courtyard by Marriott मा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई हार्दिक स्वागत गर्नुको साथै तिहार २०८२, नेपाल सम्वत् ११४६ र छठ पर्वको हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो। प्रधानले संस्थाको विकासको लागी खुल्ला मनले दान गर्नको लागी पनि सबै लाई आवहान गर्नु भएको थियो ।

यसैगरि समाजका उपाध्यक्ष तथा तिहार शुभकामना साँझ कार्यक्रमका मुख्य संयोजक कृष्ण तिमल्सिनाले पनि कार्यक्रममा उपस्थित सम्पूर्ण केपकडबासीहरूलाई शुभकामना दिदै यस महान पर्वले हामी सबैबीचको एकता कायम राख्दै आगामी दिनहरूमा आउने सामाजिक कार्यहरूमा पनि एकजुट भएर अगाडि बढ्न मदत पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो।

तिहार विशेष देउसी- भैलो कार्यक्रमका संयोजक खगेन्द्र राईले उक्त कार्यक्रममा उपस्थित समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरू सबैमा दीपावली २०८२ को शुभकामना ब्यक्त गर्दै समाजका पदाधिकारीहरूको समेत सहभागीतामा सामूहिक रूपमा स्वागत गीत साथै नृत्य प्रस्तुत गर्दै देउसी भैलो सत्रको शुभारम्भ गर्नुभएको थियो।

यसको साथ-साथै समाजका जेष्ठ नागरिक आमा बुवाहरू समेत हुनुभएको परिवारहरूको घर घरमा गएर पालैपालो देउसी खेल्दै, आशीर्वाद दिनुको साथै स- साना नानीबावुहरूको नृत्य सहितको अभिनयात्मक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो भने हेम चालिसे, निर्मल अर्याल र खगेन्द्र राईले देउसी भईलो भट्टाएका थिए ।

यसैगरि समाजका पदाधिकारीहरू, आजीवन सदस्य लगाएत उपस्थितअन्य महानुभावहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने क्रम कार्यक्रम भरी निरन्तर चलिरहयो। समाजका कोषाध्यक्ष विमल खड्का र सदस्य अजय खतिवडाको अगुवाईमा देउसी भैलोको दक्षिणा संकलन तथा ब्यवस्थापन गरिएको थियो। उक्त कार्यक्रममा ८६०६ डलर दान दक्षिणा उठेको थियो ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई तिहार २०८२, नेपाल संबत ११४६ र छठ पर्वको शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्नुहुंदै औपचारिक कार्यक्रमको समापन भएको र बाँकी समय देउसी भैलोको निरन्तरताको लागी फ्लोर खुल्ला भएको जानकारी समेत गराउनुभयो।