हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन
भक्तपुर, कात्तिक १५ गते। भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्। मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताए ।
पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिए । चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उनको भनाई छ ।
धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको छ ।
आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको छ । चाँगुनारायण नगरपालिकाले यस वर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमन वृद्धि गर्न नगरले मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । मन्दिरलाई सयपत्री फूलको मालाले सिङ्गारिनाका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले रौनक बनाइएको थियो ।
मन्दिर आउने नाका तथा स्वागतद्वार सिङ्गारिएको बताउँदै उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको उल्लेख गरे । नगरप्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नाका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी दिए ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सक्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ। त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। नारायणका पूजा एवं दर्शन गर्न बर्तालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिए । रासस