रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद
गुआङझाउ, २ मङ्सिर (रासस–सिन्ह्वा) । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटहरूले खेलाडीहरूलाई मेडल प्रदान गर्दै दर्शकहरूको ध्यान तानेका छन् । प्रविधिको शहरका रूपमा चिनिने शेन्जेनमा रोबोटहरूले पोडियमसम्म पदक पु–याउँदा दर्शकहरू उत्साहित हुँदै तस्बिर खिचिरहेका छन् । ९२ किलोग्राम बक्सिङका रजत पदक विजेता मेङ फानलोङ्ग भने, “म निकै आश्चर्यचकित छु । भविष्यमा रोबोटहरू हामीभन्दा धेरै सक्षम हुनेजस्तो लाग्छ ।”
यसपटकको ‘क्रस–बाउन्डरी’ खेलकुदमा विभिन्न प्रतिस्पर्धाहरूमा रोबोटहरूको व्यापक र प्रभावकारी प्रयोग भइरहेको छ । एथलेटिक्स मैदानमा रोबोटिक कुकुरहरूले जेभेलिन बोकेर कर्मचारीहरूको काम सजिलो बनाइरहेका छन्, जबकि अन्य रोबोटहरू स्थल गस्ती, पावर प्रणाली निरीक्षणको भूमिकासमेत निभाइरहेका छन् ।
आयोजकका अनुसार प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) र उन्नत सूचना प्रविधिसहित १३० भन्दा बढी हाई–टेक उपकरण प्रयोगमा छन् । उद्योग विशेषज्ञ पान हेलिनका अनुसार, यस्तो ठूलो स्तरको प्रतियोगिताले रोबोटिक्स र स्वचालित सवारीहरूको वास्तविक परीक्षण गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ ।
साइकल दौडमा उच्च प्रविधिको योगदान
हङकङ–झुहाइ–मकाउ पुल हुँदै तीनै क्षेत्र जोड्ने पुरुष रोड साइकल दौडमा प्रविधिले सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको छ । लिङडिङयाङ समुद्री क्षेत्रमा चालकविहीन गस्ती र एचडी क्यामेरासहित गस्ती गरिरहेका छन् ।
दर्शकहरूका लागि समावेशी प्रविधि
दर्शकहरू अहिले एकै क्लिकमा साङ्केतिक भाषा सुविधा प्रयोग गरिरहेका छन्, जसले खेल हेर्ने अनुभवलाई अझ समावेशी बनाइरहेको छ ।
उद्योगमा दीर्घकालीन प्रभाव
विशेषज्ञहरूका अनुसार राष्ट्रिय खेलकुदमा प्रयोग भएका यी प्रविधिहरूले खेल प्रविधि उद्योगमा सकारात्मक र दिगो प्रभाव पारिरहेका छन् ।
शेन्जेनस्थित एक प्रविधि कम्पनीका प्रमुख ली जीले एआईको विकाससँगै खेल प्रकाश प्रणाली र डिजिटल सामग्रीको संयुक्त प्रदर्शन समाधान झनै लोकप्रिय बन्दै गएको बताउ । पान हेलिनका अनुसार, खेलकुदमा देखाइएको प्रविधिले उद्योग उत्पादनकर्ताहरूलाई व्यावहारिक सन्दर्भ र दिशा प्रदान गर्दै ग्रेटर बे एरियाको डिजिटल तथा बुद्धिमान विकासलाई मजबुत बनाइरहेको छ।