बिचार

औचित्यहिन गैरआवासीय नागरिकता बशंजमा परिणत हुनुपर्ने

बिष्णु सिंह, न्युयोर्क

नोभेम्वर २३ मा एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिको अन्तराष्ट्रिय विभागले संयोजक बुद्धि सागरको संयोजकत्वमा मन्त्री कुलमान घिसिङ्गको प्रमुख आतिथ्यमा मताधिकारको अधिकार र एनआरएनको नागरिकताको निरन्तरता सम्बन्धमा एक भर्चुअल छफफल कार्यक्रम आयोजना गर्यो। छलफलको लागि प्रमुख अतिथि जेन्जीको आन्दोलनद्वारा स्थापित बर्तमान उर्जा, जलश्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङ्ग थिए। नागरिकता सम्बन्धि प्रमुखवक्ता पुर्व नेपाल बार एशोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे थिए। अन्य बक्ताहरुमा अमेरिकाको कानुनविद खगेन्द्र जिसी र जनसम्पर्कक पुर्व अध्यक्ष बिष्णु सुबेदी पनि थिए। साथै अन्य वक्ताहरुमा आयोजकले सिर्फ एनआरएन कै कुनै पद पाएका बर्तमान र भूतपूर्वलाई मात्र समाबेश गरे। अरु बिज्ञ र जानकारहरुलाई बोल्न समय मागे पनि दिएनन्। अहिले एनआरऐनमा कसैले चासो राख्दैन। चुनावमा जो लल्लुपंजु उठेपनि निर्बिरोध पद पाई हाल्छन। तर बुद्धि सागर जस्ता पुरानाले पनि अरु आजीवन सदस्यहरुलाई बोल्न दिएनन। आयोजकले बोल्न दिएका पदाधिकारीले चाहिँ कुनै नयाँ कुरो बोल्न सकेनन् र एउटाले बोलेको कुरो अरुले पनि दोहर्याएर समय बर्बाद गरि दिए। अनि निष्कर्ष अर्थ न बर्थ गोबर गणेश हुन पुग्यो।

नेपालको संविधानको धारा १४ ले बिदेशी नागरिकता लिएको नेपालीलाई सामाजिक, आर्थिक र साँकृतिक अधिकार सहितको गैरआवासीय नागरिकता दिने ऐच्छिक व्यवस्था गरेको छ । यो अनिवार्य व्यवस्था होईन। त्यसैले एनआरएनबाट आफ्नो भाग खोस्सिने डर भएका नेपालका नेताहरुले धेरै समय गैर-आवासीय नागरिकता नदिएर एनआरएनलाई झारा मात्र टारे । एनआरएनले जताततै चिच्याउन र कराउन थालेपछि बल्ल दिन घोषणा गरे। अनि फ़ुर्फ़ुरिएर अमेरिकाका वकिल आफ्नो गाउँ जिल्ला पुगेर दंग परि नागरिकता लिएर आए। अरु धेरै नेपालीले पनि लिए। तर अहिले बुझ्दै जादा त यो तातो न भुत्लोको गैर-आवाशीय नागरिकता लिन समेत अनेक झमेला रहेछ। अनि एनआरएनले खोजेको वास्तविक कुरो चाहिँ रहेनछ। त्यसैले कार्यक्रममा नै जनसम्पर्कका पुर्व अध्यक्ष बिष्णु सुबेदीले “यो गैर-आवाशीय नागरिकता नाक पुछ्न पनि काम नलाग्ने भएकोले कसैले नलिनु भनि आव्हान नै गरे।”

संविधानको धारा २९१ ले बिदेशी ग्रिनकार्ड त्यागी ३ महिना व्यतित भएपछि मात्र नेपालीले कुनै निर्वाचन भाग लिन वा मनोनयन हुन् पाउँछन।
अधिबक्ता घिमिरेले नेपालीले विदेशबाट भोट हाल्न पाउनु पर्नेमा जोड दिए। उनले १२३ मुलुकमा दोहोरो नागरिकताको प्रावधान रहेको खुलासा गरे। त्यसैले बंशजको नागरिकतालाई यथावत कायम राख्न कुनै बाधा नहुने जिकिर गरे। केवल दोस्रो पुस्ता र बिदेशीसंग बिहे गरेकालाई मात्र गैर-आवाशीय नागरिकता दिनुपर्ने राय व्यक्त गरे। नेपालीको स्वदेश प्रतिको मायालाइ कायम राख्न र लगानि बढाउन पनि बंशजको नागरिकता कायम राख्नु उचित हुनेमा जोड दिए।

गैर-आवासीय नागरिकताबारे सहभागीहरुले ब्यक्त गरेका केही सुझाव र गुनासो जस्ताको त्यस्तै;

“वर्तमान गैरआवासीय नेपाली नागरिकता लिन बनाइएको कानूनले आफ्नो नागरिकता बुझाउ भन्छ र बुझाएर लिएको गैरआवासीय नेपाली नागरिकताले न भएका घर जग्गा, न बैकिग कारोबार, न आन्तरिक हवाइ यात्रा काँही पनि काम गर्दैन भने यस प्राप्तिलाई के भन्ने हो ? माननीय मन्त्रीज्युबाट सुन्ने चाहना”

“कुनै संघीय कानुनले गैर-आवासीय नागरिकको अधिकार र कर्तब्य नभएको किटान गरेको अवस्थामा बाहेक अंगिकृत नेपाली नागरिक सरह नेपालको सबिधान अनुसार गैर-आवासीय नागरिक र गैर आवासीय परिचयपत्र बाहकलाइ पूर्ण अधिकार र कर्तब्य पुर्ण रुपमा हुने छ” भनेर एक वाक्य लेखेर कानुन वा अध्यादेश बनाएर हुनेमा हजारौ कानून केलाएर हरेक कानुनको दफा गैर आवासीयको लागि फेर्ने कुरा भनेको दुख दिने र काम नगर्ने चाल बाहेक केही हैन । कर्मचारीले कान फुकेपछि कुनै मन्त्रीले केही गर्न सक्तैन । त्यसैले कर्मचारीतन्त्रलाई हात नलिदासम्म जति भाषण गरेपनि अर्को बीस बर्षमा पनि केही हुँदैन ।

“हामीलाई दोहोरो नागरिकता लिंदा पहिले नागरिकता लिएको जिल्ला प्रसासन कार्यालय, वडा, चौकि, बसाई सरेको जिल्लाको जिल्ला प्रसासन कार्यालय गएर घुस दिदै भनसुन गर्दै हप्तौ लगाएर हाललाई धेरै अधिकार पनि नदिईएको दोहोरो नागरिकता लिनपर्ने अवस्था छ । हाललाई नेपालमा यदि अध्यादेश ल्याएर केन्द्रमा अनलाइन दर्ता गरि राजस्व उठा बिदेशमा बसेको देश र नेपालको नागरिकता हेरि एकैदिनमा नागरिकता दिएमा सजिलो हुने र देशलाई राम्रो राजस्व उठ्ने सम्भावना छ”

“कम्तिमा गैर आवासीय नेपाली सम्बन्धि नियमावली २०६६ को नियम ११ मा भएको संविधान र नागरिकता ऐनले दिएको सुविधासँग बाँझिएका ब्यवस्था तत्काल हटाएर चल अच सम्पत्ति नेपाली सरह किनबेच तथा उपभोग गर्न पाउनेछ भनेर निर्णय गरिदिए हुन्थ्यो ।”

मन्त्री घिसिङ्गले हाल सरकारले एनआरएन सम्बन्धमा गरिरहेको कार्य र उनको आफ्नो धारणा यसरी व्यक्त गरे।

१, सरकारले अध्यादेश मार्फत अगाडि बढ्न गृह मन्त्रालयले अग्रसरता लिएको छ।
२, यस सम्वन्धमा निर्वाचन आयोगसंग छलफल भईरहेको छ। तर आयोगले समयको पावन्दिको कारणले गर्दा फागुन २१ को निर्वाचनमा सम्भव नहुने देखिएको भनेको छ । तर सरकार अहिले डडेल्धुराको मानिस काठमाडौंमै नै बसेर भोट हाल्न सक्ने व्यवस्था गर्न लागि परेकोले छुट्टै समय मिलाएर भएपनि मताधिकार दिन अग्रसर रहेको जानकारी गराए।
३, राष्ट्रपति भने अध्यादेशबाट नगरौ भन्ने अडानमा रहेको बताए।
४, दोहोरो नागरिकता दिदा देशलाई फाईदा छ। यसबाट लगानि बढछ।
५, संबिधान संशोधन नयाँ सरकार आएपछि सम्भव छ।
६, सरकारले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको नागरिकता तुरुन्तै लागू गर्न लागेको।
७, नेपाल र नेपालीको समृद्धिको आधार बिदेशमा रहेको नेपालीको ज्ञान, शिप, श्रोत तालिम र लगानि सम्भव छ।
८, नेपालीले गैर-आवासीय नागरिकता लिएपनि भिसा शुल्क लाग्ने गरेकोमा त्यो हटाउने।
९, नयाँ सोच, नयाँ नेतृत्वको लागि ८२ को चुनावमा सम्पुर्ण एनआरएनको प्रभावकारी सहयोग र सहायता पाए, नयाँ सरकारले एनआरएनले मागेको काम गर्न सकिने।
१०, हालसम्म ७ हजारले गैर-आवासय नागरिकता लिएको।

अहिले नेपाल भ्रष्टहरुको नियन्त्रणमा पुगेर जेहेन्दार नेपालीहरु बिदेशिन बाध्य छन। तर देशको मायाले छ्ट्पट्टिन छोडेको छैन। तिन करोड नेपालीमा एक करोड देश बाहिर छ। तिनको दुर्दर्शितापुर्ण तरिकाले देशको हितको लागि सही व्यवथापन नगरे नेपालको पतन हुन् बेर लाग्ने छैन। त्यसैले देश चलाउनेहरुले बेलैमा बुद्धि पुर्याएर कार्य गरे देशलाई फाईदा हुनेछ।

शारांश
कार्यक्रममा एक पौडेल थरकी पुर्व उपाध्यक्षले आफु अमेरिकामा २५-२६ बर्ष बसेर कमाएको रकम सबै नेपालमा जम्मा गरेपनि आफ्नो देशले आफुलाई माया नगरेको भन्दै निकै भाबुकता व्यक्त गरिन। देशले राष्ट्रिय परिचय पत्र दिदैंन जुन बिना नेपालमा काम गर्न गाह्रो छ।
हुन् त सबै एनआरएन दुधैले नुहाएका छैनन्। कतिपयले विदेशको नागरिकता लिएर नेपालको सम्पति जायजेथा विदेश लान कोशिस गर्छन। तर देशलाई सच्चा माया गर्ने आफु जन्मेको माटोको ऋण तिर्न चाहने नेपाली पनि धेरै छन। अबको नेतृत्वले उचित नियम कानुन बनाएर व्यवस्थित गर्न जरुरि छ।