समाचार

गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो

Secret Service uniformed division officers patrol in Lafayette Square across from the White House, in Washington, DC on November 27, 2025. Two National Guard troops were shot November 26 in a "targeted shooting," near the White House by an Afghan migrant who worked with the US military in Afghanistan. The United States is treating the shooting of two National Guards near the White House as a terrorism investigation, FBI director Kash Patel said Thursday. (Photo by MANDEL NGAN / AFP)

वासिङ्टन, १४ मङ्सिर रासस–एपी) । ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोकेका छन् । यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको सामना गरिरहेका छन् ।

लकानवाल अफगानिस्तान युद्धका दौरान सिआइएसँग काम गरेका पूर्व सहकर्मी भएको बताइन्छ । उनले बाइडेन प्रशासनका क्रममा शरणका लागि निवेदन दिएका थिए र चालु वर्ष ट्रम्प प्रशासनको समयमा यो शरण स्वीकृत भएको अफगानइभाक नामक सहायता समूहले जनाएको छ । ट्रम्प प्रशासनले कानूनी आप्रवासन कठोर बनाउने, केही गरीब राष्ट्रबाट प्रवेशमा रोक तथा अमेरिकामा रहेका अफगान र अन्य कानूनी आप्रवासीहरूको पुनःसमीक्षा गर्ने नीति अघि बढाउँदै आएको छ ।

बुधबारको गोलीकाण्डमा २० वर्षीया विशेषज्ञ सारा बेकस्ट्रोमको मृत्यु भएको थियो भने २४ वर्षीय स्टाफ सार्जन्ट एन्ड्र्यु वोल्फ गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । दुवैजना वेस्ट भर्जिनिया नेसनल गार्डसहित राष्ट्रपतिको अपराध–विरोधी अभियानअनुसार वासिङ्टन डिसी क्षेत्रमा तैनाथ भएका थिए । अन्य सहरहरूमा पनि नेसनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको प्रयास न्यायिक अवरोधसँग जुधिरहेको छ ।


युएस एटर्नी जेनिन पिर्रोको कार्यालयका अनुसार लकानवालमाथि सशस्त्र अवस्थामा मार्ने उद्देश्यले आक्रमण गरेका दुई अतिरिक्त आरोप पनि जोडिएको छ । पिर्रोले फक्स न्युजमा ‘थप आरोपहरू आउन बाँकी छन्’ भनी उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘आतङ्कवादी हमला’ भन्दै बाइडेन प्रशासनले अमेरिकी सेनालाई सहयोग गर्ने अफगानहरूलाई प्रवेश गराएको निर्णयको कडा आलोचना गर्नुभएको छ ।

यसबीच युएस नागरिकता तथा अध्यागमन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समा प्रत्येक विदेशीको अधिकतम तहमा छानबिन भएको सुनिश्चित नभएसम्म शरणसम्बन्धी सबै निर्णयहरू स्थगित गरिने घोषणा गर्नुभएको छ । विज्ञहरूका अनुसार यतिखेर पनि शरण प्रक्रियामा कठोर सुरक्षा जाँच प्रणाली कायम छ र युएससीआइएसमा दाबीहरूको ठूलो ब्याकलग रहेको छ, जुन ट्रम्प प्रशासनमै अझ बढेको आलोचकहरूले बताउँदै आएका छन् ।

शुक्रबार विदेशमन्त्री मार्को रुबियोले पनि अफगान पासपोर्टमा यात्रा गर्ने सबै व्यक्तिका लागि भिसा जारी प्रक्रिया रोकिएको जानकारी दिए । सो निर्णयप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै अपगानइभाकका अध्यक्ष शन भ्यानडाइभरले ‘एक व्यक्तिको हिंसात्मक कार्यलाई बहाना बनाएर प्रशासनले लामै समयदेखि योजना बनाएको नीति लागू गर्न लागेको’ आरोप लगाए ।


सन्दिग्ध लकानवाल वासिङ्टन राज्यको बेलिङहममा पत्नी र पाँच सन्तानसँग बस्दै आएका थिए । स्थानीयहरूले उनलाई विनम्र, शान्त र थोरै अङ्ग्रेजी बोल्ने व्यक्ति बताएका छन् । छिमेकीहरूले काम खोज्न कठिनाइ भएको सुनेको र करिब दुई सातादेखि बेपत्ता रहेको बताएका छन् । लकानवालले यसै वर्ष अमेजन फ्लेक्समा छोटो समय स्वतन्त्र ठेकेदारका रूपमा काम गरेको पुष्टिको जानकारी पनि आएको छ ।

अनुसन्धानकर्ताहरू वासिङ्टन राज्य तथा देशका विभिन्न भागमा वारेन्ट कार्यान्वयन गरिरहेका छन् । लकानवाल सन् २०२१ मा बाइडेन प्रशासनको ‘अपरेसन एलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिकामा प्रवेश गरेका थिए । खोस्तका एक नातेदारका अनुसार लकानवालले सन् २०१२ देखि सिआइए समर्थित अफगान विशेष ‘शून्य युनिट’ मा सुरक्षा गार्ड, पछि टोली नेता तथा जिपिएस विशेषज्ञका रूपमा सेवा गरेका थिए ।

उता, वेस्ट भर्जिनिया नेसनल गार्डका अनुसार बेकस्ट्रोम सन् २०२३ मा उच्च विद्यालय स्नातक भएपछि सैन्य सेवामा भर्ना भएकी थिइन् । गार्डका अनुसार उनी ‘नेतृत्व, समर्पण र व्यावसायिकताको उत्कृष्ट उदाहरण’ थिइन् र डिसी तैनाथीका लागि आफैँले स्वेच्छा व्यक्त गरेकी थिइन् ।