स्टक मार्केट र एआईको प्रयोग
कुमार न्यौपाने
विश्व अर्थतन्त्र आज अत्यन्तै जटिल, तीव्र गतिमा चलायमान र डाटा–निर्भर बनेको छ । यस परिवर्तनको केन्द्रमा छ, स्टक मार्केट । तर, अहिले स्टक बजारलाई बदलिरहेको प्रमुख सञ्चालक शक्ति भनेको एआई नै हो । एआई केवल एउटा प्रविधि मात्र होइन; यो वित्तीय प्रणालीको संरचना, निर्णय–प्रक्रिया, व्यापार–मोडेल, गति, सुरक्षा र पारदर्शितालाई पुनः परिभाषित गरिरहेको समय पनि हो ।
१. स्टक बजारको पृष्ठभूमि र संरचना
स्टक मार्केट के हो ?
स्टक मार्केट भनेको कम्पनीहरुले आफ्नो स्वामित्वको अंश (शेयर) सार्वजनिक रुपमा बिक्री गर्ने बजार हो ।
यसका मुख्य कार्यहरु
पूँजी उठाउने : कम्पनीले लगानीकर्ता आकर्षित गरेर बजार विस्तार गर्छ ।
लगानी अवसर : व्यक्तिगत र संस्थागत लगानीकर्ताले भविष्यमा मुनाफा कमाउनको लागी लगानी गर्छन् ।
अर्थतन्त्रको लेखाजोखा : विश्वभरिका स्टक सूचकांक देशहरुको आर्थिक गतिविधिहरुलाई देखाउँछ ।
स्टक बजार केवल मूल्यको उतार–चढावको खेल मात्र होइन; यो अर्थतन्त्र, मनोविज्ञान, राजनीति, प्रविधि र विश्व घटनाहरुको मिश्रण पनि हो ।
२. एआईले वित्तीय बजारमा प्रवेश कसरी ग¥यो त ?
२५ वर्ष अगाडिको समय मानवीय ज्ञानमा आधारित भएर अर्थतन्त्रको विश्लेषण गरिन्थ्यो । पहिलेको बजारको सञ्चालन विशेषगरी चार्ट पढ्ने, समाचार विश्लेषण गर्ने, रिपोर्ट बुझ्ने र आफ्नो अनुभवमा भरोसा गर्ने गरी मानिसको क्षमतामा निर्भर थियो ।
तर, बिस्तारै विश्वभर लाखौं ट्रेड र अर्बौं डाटा दैनिक उत्पन्न हुँदै गयो । मानव विश्लेषण सुस्त, सीमित र बढी भावनात्मक भएकाले पनि प्रविधि अपरिहार्य भयो ।
परिवर्तनको शुरुआत
सन् २००० पछि बिग डाटा, मेसिन लर्निङ र न्यूरल नेटवर्क जस्ता प्रविधिहरुले वित्तीय बजारलाई डिजिटल बनाउँदै गयो । जब २०१७ मा एआईको विश्वसनीयता बढ्दै गएपछि भने एआईले सतही रुपमै विश्लेषणबाट गहिरो रुपमा पूर्वानुमान (डीप प्रिडिक्टिभ एनालिटिक्स), एल्गोरिदमिक ट्रेडिङ र रियल टाइम निर्णय गर्नेसम्मको कार्य गर्न थालेपछि बजारले मोड परिवर्तन ग¥यो ।
३. स्टक बजारमा एआईका मुख्य प्रयोगहरू
प्रिडिक्टिभ एनालिटिक्स
एआईले ठूलो परिमाणको डाटा, बजार ट्रेन्ड, म्याक्रोइकोनोमिक संकेतहरु, बैंक ब्याजदर, राजनीतिक घटनाहरु, मौसम, विश्व समाचार र सामाजिक मनोभावनालाई मिलाएर विश्लेषण गरी भविष्यको दिशाको अनुमान गर्नसक्छ ।
एआईले गर्नसक्ने अन्य सहयोगहरुमा सेयरको मूल्य कति बढ्छ÷घट्छ भन्ने अनुमान ।
एक दिन, एक हप्ता, एक महिना पछिको सम्भावित ट्रेन्ड ।
उच्च र निम्न जोखिमको पहिचानहरु ।
बाह्य घटनाहरुका संकेत र त्यसले पार्ने असरहरु पहिल्यै पत्ता लगाउने जस्ता कामहरु मान्छेको क्षमताभन्दा धेरै गुणा तेज र व्यापक रुपमा गर्नसक्छ ।

एल्गोरिदमिक ट्रेडिङ
आज अमेरिका लगायत विश्वका ७०–८०% ट्रेडिङ भोल्युम एआई आधारित एल्गोरिदमबाट चल्छ ।
यी एल्गोरिदमले–
माइक्रो सेकेन्डमा निर्णय लिन्छ,
हजारौं संकेतहरुलाई एकैपटक प्रोसेस गर्छ,
स–साना मौकाहरु खोजेर नाफा लिन्छ,
अर्थमा आधारित भावनारहित निर्णय दिन्छ ।
उदाहरणको रुपमा यदि एप्पलको मूल्य १.००% ले घट्यो, साथसाथै कुनै समाचारले नकारात्मक भावना बढायो र बजारको तरलता घट्यो भने एआईले तुरुन्तै बेच्ने आदेश दिन सक्छ ।
सेन्टिमेन्ट एनालिसिस
कहिलेकाहीँ एआईले सामाजिक सञ्जाल, ट्विटर÷एक्स, समाचार शीर्षक, ब्लग, यू–ट्युब कमेन्टहरुको विश्लेषण गरेर बजारको भावना पनि अनुमान गर्छ ।
उदाहरणको रुपमा यदि Tesla delivery misses forecast भन्ने समाचारले नकारात्मक भावना Nvidia beats earnings estimate by huge margin सकारात्मक भावनाहरु हुन् । यस्ता भावनाले बजारलाई धेरै हदसम्म चलाउँछ पनि र एआईले यसलाई संख्यामा रुपान्तरण गर्छ ।
जोखिम विश्लेषण
एआईले बजारको जोखिम, प्रणालीगत जोखिम, क्रेडिट जोखिम, तरलताको जोखिम र चालचलन जोखिम पहिचान गर्छ र सजग गराउँछ ।
पोर्टफोलियोलाई विभिन्न उद्योग र देशहरुमा सन्तुलित बनाउन एआई आज प्रमुख उपकरण बनिसकेको छ ।
ठगी नियन्त्रण
एआईले बजारको असामान्य व्यवहार पहिचान गर्छ । एकै व्यक्तिद्वारा विभिन्न देशबाट लग–इन गरेको पत्ता लगाई सूचना दिन्छ । अचानक ठूलो रकमको ट्रेड गरेको अवगत गराउँछ । असामान्य मूल्य चलायमान र ह्याकिङको संकेत दिन्छ । त्यसैले बैंक, ब्रोकरेज र एक्सचेन्जहरुले एआईलाई सुरक्षा उपकरणका रुपमा प्रयोग गर्छन् ।
रोबो–एड्भाइजर
Robinhood, Wealthfront, Charles Schwab Intelligent Portfolio लगायत सेयर कारोबार कम्पनीहरुले नयाँ लगानीकर्तालाई कम शुल्कमा व्यक्तिगत लगानीका योजनाहरु र जोखिम अनुसारको पोर्टफोलियो एआईमार्फत बनाउन सहायता दिन्छन् ।
४. लगानीकर्ताका लागि एआईका गहिरा प्रभावहरु
मानिसको व्यवहार र मनोविज्ञानमा सुधार गरेको मानिन्छ । प्रायः मानिसहरु ट्रेड गर्दा डर, लालच र हतार गर्छन्, तर एआईले गर्दैन ।
डाटामा आधारित निर्णय
सन् २००० भन्दा अघि हुने अफवाहमा आधारित ट्रेडिङ बिस्तारै कम हुँदैछ ।
साना लगानीकर्ताको पहुँच बढ्यो
पहिले ठूलो संस्थाले मात्र पाउने प्रविधि आज साधारण लगानीकर्ता समेतले प्रयोग गर्न सक्छ ।
विश्व बजारको समान पहुँच
एकै मोबाइलबाट अमेरिका, भारत, युरोप वा एशियाको बजार विश्लेषण सम्भव छ ।
५. एआईका चुनौतीहरु
ब्ल्याक–बक्स समस्या
एआई र एआईद्वारा गर्ने सम्पूर्ण कार्यको कसरी निर्णय लिन्छ भन्ने सधैं स्पष्ट हुँदैन । यसले पारदर्शितामा सधैं प्रश्न उठाउने ठाउँ दिन्छ ।
गलत डाटाले गलत निर्णय
यदि इनपुट डाटा पक्षपाति वा अपूर्ण छ भने एआईको निर्णय गलत हुन पनि सक्छ ।
उच्च–गति ट्रेडिङले बजारमा अस्थिरता
एआईले ट्रेडिङलाई तीव्र गति दिन्छ त्यसैले Flash Crash २०१० जस्ता घटनाहरुमा एल्गोरिदमले अत्यधिक उतार चढाव निम्त्याइरहन सक्छ ।
साइबर सुरक्षा
एआई प्रणालीमा ह्याकिङ भएमा खरबौंको क्षति हुन सक्छ ।
रोजगारमा प्रभाव
ट्रेडर, वित्तीय विश्लेषक, ब्रोकरेज स्टाफहरुमा एआईले धेरै काम स्वचालित बनाउँदैछ । रोजगारमा सबैभन्दा धेरै असर गरेको क्षेत्र पनि स्टक बजार हो ।
६. यही रफ्तारमा अघि बढेमा भविष्यमा पक्कै पनि एआई चालित वित्तीय विश्व स्टक बजार पूर्ण रुपमा स्वचालित, हाई–फ्रीक्वेन्सी, रियल टाइम विश्व व्यापार र व्यक्तिगत लगानीको योजनासहित बन्नेछ ।
निष्कर्ष
स्टक बजार र एआईको सम्बन्ध सामान्य प्राविधिक परिवर्तन मात्र होइन; यो वित्तीय विश्वको संरचनात्मक रुपान्तरण हो । एआईले बजारलाई छिटो, गतिशील, विश्लेषणात्मक, सुरक्षित र लोकतान्त्रिक (सबैका पहुँचमा) बनाइरहेको छ । तर, सावधानी, पारदर्शिता, नियमन र मानव बुद्धिसँगको सन्तुलन आवश्यक छ । यिनै कुरा व्यवस्थापन गर्न सके स्टक बजारको भविष्य अत्यन्तै उज्ज्वल र एआई सञ्चालित हुने निश्चित छ ।
हाल : न्युयोर्क