समाचार

स्वअध्ययनबाटै दक्ष देवेन्द्र : लेबरबाट इन्जिनियर हुँदै विभागीय प्रमुखसम्म

विदेशमा श्रम गरेर सफलताको शिखर छोएका नेपालीहरुका थुप्रै उदाहरण छन् । तर, लमजुङको सुन्दरबजारका देवेन्द्र राउतको यात्रा विशेष छ– किनकि उनी सामान्य श्रमिकबाट सुरु भएर आज प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनीमा डिभिजन प्रमुख (हेड अफ डिपार्टमेन्ट) बनेका छन् । सन् १९९६ मा स्काफोल्डिङ हेल्परको रुपमा कतार उत्रिएका राउत अहिले सयौं जनाको नेतृत्व गर्दै इन्जिनियरिङ क्षेत्रका अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् ।


देवेन्द्रको जीवन एक प्रेरणाको स्रोत हो । उनको करिअर स्काफोल्डिङ हेल्परबाट सुरु भएर फोरम्यान, सुपरभाइजर, सुपरिटेन्डेन्ट, साइट इन्जिनियर, साइट इन्चार्ज हुँदै डिपार्टमेन्टल इन्चार्जसम्म पुगेको छ । स्वअध्ययनबाटै उनले आफ्नो पढाइलाई अगाडि बढाएका छन् । अहिले एक हजारभन्दा बढीको नेतृत्व उनी आफैं गर्छन् । मध्यपूर्वकै चर्चित कम्पनीहरु कतार पेट्रोकेमिकल, कतार ग्यास, डल्फिन इनर्जी, बिट्रिस पेट्रोलियम, ओमान एलएनजी, चियोडा, जाप्निज ग्याँस कम्पनी, अबुधावी नेसनल ओयल कम्पनी लगायतका कम्पनीमा काम गरेको गहिरो अनुभव उनीसँग छ ।

हेल्परदेखि डिपार्टमेन्ट प्रमुखसम्मको अविश्वसनीय यात्रा
शिक्षक बन्ने उद्देश्य बोकेका राउतले प्लस टु सकेर काठमाडौं घुम्न आएका थिए । तर, सन् १९९६ मा काठमाडौं आएका बेला फ्री भिसामा कतारमा कामदार लैजाने विज्ञापनले उनको जीवनको दिशा नै बदलिदियो । न त उनले विदेश जाने सोचेका थिए, न त कुनै बाध्यता थियो । तर, लगानीबिना रोजगारीको अवसर पाउँदा उनले नयाँ सम्भावना खोज्दै कतार जाने निर्णय गरे ।


देवेन्द्र राउत पहाडी बस्ती सुन्दरबजारमा जन्मिएका हुन् । परिवारका जेठो छोरा उनले विद्यालयस्तरीय पढाइ तनहुँको बयखानीबाट र प्लस टु त्रिभुवन उच्च मावि मानेचौरबाट पूरा गरे । शिक्षक बन्ने सपना थियो, त्यसैले प्लस टुमा एजुकेसन मेजर लिएका थिए । परिवार ठीकठाक थियो, अभाव पनि थिएन– कारण बुवा भारतीय सेनाको लाहुरे थिए । सानैदेखि रवाफिलो र पारिवारिक पृष्ठभूमिका कारण उनी काठमाडौं घुम्न निस्केका थिए । पत्रिकामा फ्री भिसासहित कतारमा रोजगारीको विज्ञापन पढेपछि उनले कहिल्यै नसोचेको निर्णय लिए– विदेश जाने ।


कतार पुगेपछि दुई वर्ष उनले नयाँ अनुभव हासिल गरे । जागिरको तनाव, कठोर सिफ्ट, गर्मी र थकानका बाबजुद उनले पढाइ कहिल्यै छोडेनन् । स्काफोल्डिङको काम गर्दै इन्जिनियरहरुका नक्सा हेरेर, योजना बुझेर उनको मनले भन्थ्यो– ‘म पनि इन्जिनियर बन्छु ।’ यसरी उनले साइन्स, इन्जिनियरिङ, ड्रइङ र प्रोजेक्ट म्यानेजमेन्टका विषयहरु स्वअध्ययन गरे । अन्ततः मेकानिकल इन्जिनियरिङ पूरा गरे । हिजो सामान्य लेबरलाई बोलाउनेहरुले आज ‘सर’ भन्छन् । सयौं व्यक्तिको भरोसाको केन्द्रमा देवेन्द्र छन् । फिलिपिन्स, भारत, बंगलादेश, पाकिस्तान र नेपाल लगायतका देशका कर्मचारीहरु उनीसँग काम गर्छन् ।


एउटा विभागीय प्रमुखमा हुनुपर्ने गुणहरु– व्यावहारिकता, मानवीयता, अनुशासन र जिम्मेवारी सबै उनमा छन् । किनकि ग्रासरुटबाटै उनले व्यावसायिक यात्रा थालेका थिए । कतारको तातो बालुवाबाट सुरु भएको संघर्षमा भाषा नबुझिने वातावरण, सीमित अनुभव र चुनौतीहरु धेरै थिए । तर, सिक्ने इच्छा र मेहनतका कारण उनी क्रमशः नयाँ जिम्मेवारीहरु पाउँदै गए । दशकौंको श्रम, अनुशासन र क्षमता परीक्षण पार गर्दै उनले विभागीय प्रमुखको उचाइ हासिल गरे ।

स्वअध्ययनमै बने मेकानिकल इन्जिनियर
कतारमा जागिरको दैनिकी सजिलो थिएन– लामो सिफ्ट, जोखिमपूर्ण वातावरण र फरक संस्कृति । तर, देवेन्द्रले यसलाई अवसर बनाए । काम सुरु भएपछि इन्जिनियरका नक्सा हेर्ने, परियोजना व्यवस्थापन बुझ्ने र टेक्निकल स्ट्यान्डर्ड अध्ययन गर्ने बानी बसाले । स्वअध्ययनमै मेकानिकल इन्जिनियर बनेपछि योग्यता, अनुभव र क्षमताका कारण उनी नेतृत्व तहमा पुगे ।

अन्तर्राष्ट्रिय टोली, विविध देशका प्राविधिक जनशक्ति र उच्चस्तरीय सुरक्षा–गुणस्तर मापदण्डसँग काम गर्दै व्यापक अनुभव बटुले । उनले अहिले हरेक वर्ष नेपाल, भारत र पाकिस्तान पुगेर कम्पनीका लागि दक्ष जनशक्ति छनोट गर्छ्न् । उनका सहकर्मीहरु भन्छन्– उनको नेतृत्वशैली व्यावहारिक, सरल र मानवीय छ । कामकाजी अनुशासन, जोखिम व्यवस्थापन र प्राविधिक सूक्ष्मता बुझ्ने क्षमताले कम्पनीमा अलग पहिचान दिलाएको छ ।


दुई वर्ष कतारको कामपछि सन् १९९८ मा फोरम्यानको रुपमा ओमान गए । त्यहाँ दुई वर्षको अनुभव लिएर सन् २००१ मा अबुधाबी पुगे, जहाँ सुपरभाइजरको रुपमा १० वर्ष बिताए । यो समय नै जीवनको टर्निङ प्वाइन्ट बन्यो । सन् २०११ मा कतार फर्किए । सन् २०१४ मा फेरि अबुधाबी गए । निरन्तर पदोन्नति र विभिन्न कम्पनीको अनुभवपछि सन् २०१८ मा कतार फर्किए । अहिले उनी एचओडी छन् । उनी कार्यरत कम्पनीमा झन्डै ३० हजार कर्मचारी छन्– सामान्य लेबरदेखि इन्जिनियरसम्म १००० भन्दा धेरैको नेतृत्व उनले गर्छन् ।

सामाजिक काममा सक्रियता
रोजगारीमा मात्र सीमित नभई समाज सेवालाई प्राथमिकता दिने देवेन्द्रले नेपाली समुदायका समस्यामा सहयोगी हात थाप्छन् । गाउँमा ससाना सहयोगदेखि धार्मिक कार्य, विदेशमा समस्यामा परेका नेपालीहरूको राहदानी, श्रम समस्या, स्वास्थ्य र आवाससम्बन्धी सहयोग गर्दै आएका छन् । रोजगारीका लागि विदेश जान चाहनेहरुलाई पनि सहयोग गर्छन् । तर, सामाजिक संस्थामा राजनीतिक व्यवहार मन पर्दैन । उनी भन्छन्– विदेशमा समर्पित समाजसेवा नै प्राथमिकता हुनुपर्छ, राजनीति होइन ।

पारिवारिक पृष्ठभूमि
लमजुङ लाहुरेको जिल्लाका रुपमा परिचित छ । राउतको पारिवारिक पृष्ठभूमि पनि त्यस्तै छ– अनुशासन, समर्पण र सेवाभाव जोडिएको । बुवा भारतीय सेनाको गोरखा रेजिमेन्टमा कार्यरत थिए, जसको देहावसान भइसकेको छ । आमा काठमाडौंमा बस्छिन् । देवेन्द्र श्रीमतीसँग कतारमा छन् । हरेक उतारचढावमा साथ दिने जीवनसाथीको भूमिका श्रीमतीको छ । एक भाइ इन्जिनियर हुन् । उनी मध्यपूर्वमै प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत छन् । छोरीले एमबीबीएस र छोराले इन्जिनियरिङ पढिरहेका छन् । उनी भन्छन्– सन्तान सफल हुँदै गएको देख्दा कठिनाइ बिर्सिन्छ ।


सामान्य रकम कमाउन कतार पुगेका उनको आम्दानी वार्षिक लाखौं हुँदै करोडौं पुगेको छ । आर्थिकरुपमा पनि उनी सन्तुष्ट छन् । पहिले वार्षिक तलब डेढ लाखदेखि दुई लाख रुपैयाँ थियो । अहिले उनको वार्षिक आम्दानी नै डेढ करोडदेखि दुई करोडसम्म हुन्छ । त्यसमाथि आकर्षक बोनस र अन्य सुविधाहरु पनि उनले प्राप्त गर्छन् । राम्रो काम गर्नेलाई थप प्रोत्साहन भत्ताको व्यवस्था कम्पनीको तर्फबाट गरिएको छ । देवेन्द्र अहिले पूर्ण सन्तुष्ट छन् ।


काम गर्ने ठाउँमा पनि उनले राम्रो वातावरण बनाएका छन् । कम्पनीको नियम पनि उस्तै छ । साइटको काममा सबै कर्मचारीलाई पूर्ण सुरक्षित राख्नु उनको प्रमुख जिम्मेवारी हो । त्यसका लागि उनले उच्च सुरक्षा मापदण्डलाई पालना गर्ने र गराउँदै आएका छन् । उनले घटनारहित र चोटपटकरहित कार्यस्थल तथा शून्य क्षति नीतिलाई व्यवहारमा उतारेका छन् ।

विभागीय प्रमुखको रुपमा उनले श्रमिकको सुरक्षामा कुनै सम्झौता नगर्ने नीति अपनाएका छन् । साइट क्षेत्रमा एसीसहितको विश्राम क्षेत्र, चिसो पिउने पानी, जुस लगायतको व्यवस्था हुँदै आएको छ । मौसमअनुसार विश्राम र कामको तालिका बनाउने जिम्मेवारी पनि उनैको छ । मध्यपूर्वमा यसरी सुरक्षा मापदण्ड पालना गर्ने कम्पनीहरु जम्मा १० प्रतिशतको हाराहारीमा छन् । उनले आफूलाई श्रमिकको सुरक्षा भन्दा महत्वपूर्ण अरु केही देख्दैनन् । कम्पनीको नीति पनि उनले भनेजस्तै छ ।

अवसरले ढोका ढकढक्याउँछ, तर खोल्ने साहस आफैंमा हुनुपर्छ
देवेन्द्र राउतको कथा केवल विदेश गएर सफलता प्राप्त गर्ने नेपालीको मात्र होइन– अवसर देख्ने आँखा, कठोर परिश्रम, अडिग संकल्प, निरन्तर अध्ययन र नेतृत्व क्षमताको पनि हो । लाखौं नेपालीले सामान्य जागिरमा सीमित रहने र पहुँच नभएसम्म अगाडि नबढ्ने मान्यता राख्छन् । देवेन्द्र भन्छन्, सबैभन्दा ठूलो डिग्री मेहनत र लगनशीलता नै हो । अवसर ढोका ढकढक्याउँछ, तर खोल्ने साहस आफैंमा हुनुपर्छ ।


यदि उनी विदेश नगएको भए यो प्रेरणादायी कथा नहुन सक्थ्यो । यो कथा श्रमको मात्र होइन– अवसर समात्ने, कठिनाइसँग जुध्ने, निरन्तर सिक्ने र जीवनमा परिवर्तन ल्याउने संकल्पको हो । उनले प्रमाणित गरे– इच्छाशक्ति, मेहनत र निरन्तरता छ भने हेल्परबाट इन्जिनियर र विभागको प्रमुखसम्म पुग्न सकिन्छ । ‘विदेशमा गएर श्रम बेच्ने’ भन्ने सामान्य मान्यतालाई परिवर्तन गर्ने उदाहरण बनेका छन् उनी । यो कथा सुनेपछि कुनै नेपाली युवकले सोच्छ– ‘म पनि सक्छु ।’