सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
जेनेभा, २३ मङ्सिर (रासस–एएफपी) । सुडानको दक्षिणी कोर्डोफान राज्यमा गत हप्ता एक अस्पताल र शिशु विद्यालय (किन्डरगार्टन स्कूल) मा भएको आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जनाएको छ । कलोगी प्रशासनिक एकाइका प्रमुख स्थानीय अधिकारी इसाम अल–दिन अल–सइदले एएफपीलाई बताएअनुसार सेनाको नियन्त्रणमा रहेको शहरमा बिहीबार भएको ड्रोन आक्रमण पहिले एउटा शिशु विद्यालय, त्यसपछि अस्पताल र तेस्रो पटक बालबालिकालाई उद्धार गरिरहेको स्थानमा आक्रमण खोजेका थिए ।
सन् २०२३ अप्रिलदेखि सुडानको सरकारी सेना र विद्रोही निकट अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच द्वन्द्व भइरहेको छ । द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको छ र लगभग एक करोड २० लाख विस्थापित भएका छन् । पश्चिमी सुडानमा सेनाको अन्तिम गढ अल–फासरमाथि अक्टोबरको अन्त्यतिर कब्जा गरेपछि आरएसएफले तीन राज्यमा विभाजित तेलको धनी कोर्डोफान क्षेत्रमा आक्रमण बढाएको छ।
“‘किन्डरगार्टेन’ र नजिकैको कलोगी ग्रामीण अस्पतालमा कम्तिमा तीन पटक आक्रमण गर्दा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन्,” विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले सुडानी अधिकारीलाई उद्धृत गर्दै एक्समा उल्लेख गरेका छन् ।
उनले भने, “बिहीवारको आक्रमणमा बाँचेकाहरूलाई उपचारका लागि दक्षिण कोर्डोफानको अबु जेबैहा अस्पतालमा लगिएको छ । एकै पटक ठूलो सङ्ख्यामा मानिसहरू हताहत भएपछि उपचारका लागि रक्तदान र अन्य चिकित्सा सहयोगका लागि तत्काल सहयोग गर्न नागरिकहरूलाई सूचना गरिएको छ।” महानिर्देशक घेब्रेयससले भने, “घाइतेलाई विद्यालयबाट अस्पताल लैजाने क्रममा पनि स्वास्थ्य कर्मी र उद्धारकर्तामाथि व्यापक आक्रमण भएको देखिन्छ । यो अमानवीय र घृणस्पद हो ।
नागरिक र स्वास्थ्य संस्थाहरूमा हुने यस्ता मूर्खतापूर्ण आक्रमणहरूको डब्लुएचओले स्पष्ट शब्दमा निन्दा गर्दछ र हिंसा अन्त्य गर्न र स्वास्थ्य लगायत मानवीय सहायतामा पहुँच बढाउन फेरि आह्वान गर्दछ ।” उनले भने, “सुडानीहरूले धेरै पीडा भोगेका छन्। अब युद्धविरामको विकल्प छैन ।” डब्ल्यूएचओले स्वास्थ्य सेवामा भएका आक्रमणहरूको गणना र पुष्टि गर्दछ, यसले कसैलाई दोष दिँदैन किनकि यो एक अनुसन्धानमुलक संस्था हो । डब्लुएचओले बिहान ६ बजेदेखि दिउँसोसम्म भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामी प्रभावित भएको जनाएको छ ।
आक्रमणकारीले विद्यालय र स्वास्थ्य सेवामा अवरोध र ‘मनोवैज्ञानिक हिंसा’ र चेतावनी दिएको सङ्गठनको रिपोर्टमा उल्लेख छ। सङ्गठनले यस वर्ष सुडानमा स्वास्थ्य सेवामा ६३ वटा आक्रमण गरेको र यसबाट एक हजार ६११ जनाको मृत्यु भएको छ र २५९ जना घाइते भएको जानकारी गराएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार भएको आक्रमणको आफु स्तब्ध भएको बताउनुभएको प्रवक्ता स्टेफेन डुजारिकले बताए । उनले भने, “महासचिवले राजनीतिक दलको प्रभावमा नागरिक तथा निहत्था बालबालिकामाथि आक्रमण गर्ने सम्बन्धित सबैलाई तत्काल कारबाही गर्न र लडाइँ रोक्न र द्वन्द्वलाई बढावा दिने हतियारको प्रवाह रोक्न आफ्नो शक्ति प्रयोग गर्न आह्वान गर्दछ।”