नेपाली समाज यूएईको क्षमता अभिवृद्धि तालिम सम्पन्न
२३ पुस, यूएई । नेपाली समाज यूएईको आयोजनामा गत आइतबार, १४ डिसेम्बर २०२५ का दिन नेपाली समाजमा आबद्ध विभिन्न संघसंस्थाका सचिव तथा महासचिवहरुलाई लक्षित गरी सार्वजनिक भाषण, माइन्युट लेखन तथा आधारभूत पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बुर्दुबईस्थित अरबियन कोर्टयार्ड होटलको द बोधी लाउन्ज हलमा सम्पन्न उक्त तालिम नेपाल पत्रकार महासंघ यूएई शाखाको समन्वयमा आयोजना गरिएको हो । यूएईमा क्रियाशील सामाजिक संघसंस्थाका अगुवा अभियन्ताहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिम कार्यक्रममा यूएईका अनुभवी प्रशिक्षकहरु निमेश गिरी, लक्ष्मण खनाल र मेघराज सापकोटाले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रम संयोजक तथा नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरीका अनुसार तालिममा ७० भन्दा बढी सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरुलाई आरम्भ लाइफजेन स्पिच हब प्रालिको तर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले यूएईमा सामाजिक संस्थाहरुको सक्रियता बढ्दै गइरहे पनि व्यक्तित्व विकास, नेतृत्व तथा सञ्चार सीप अभिवृद्धि गर्ने कार्यक्रमहरुको अभाव महसुस भएको बताए ।
सोही आवश्यकता पहिचान गरी यो तालिम आयोजना गरिएको उनको भनाइ छ । योजनाअनुसार सामाजिक सुरक्षा कोषसम्बन्धी सचेतना कार्यक्रम पनि समावेश गर्ने तयारी रहे पनि समय अभावका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष मोक्तानले भविष्यमा अझ व्यापक र प्रभावकारी रुपमा यस्ता क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।