नेपाली दूतावासमा विश्व ध्यान दिवस विशेष कार्यक्रम आयोजना
२३ पुस, अबुधाबी । विश्व ध्यान दिवस–२०२५ को अवसरमा नेपाली दूतावास, अबुधाबीले २१ डिसेम्बर आइतबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । जीवन–विज्ञान प्रतिष्ठान नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा दूतावासका कर्मचारी–परिवार, प्रतिष्ठानका प्रशिक्षक तथा साधकहरुसहित यूएईमा विभिन्न व्यवसाय तथा पेशामा संलग्न नेपालीहरुको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ध्यान मानवजीवनकै आधारभूत आवश्यकता भएको बताउँदै शान्ति, सद्भाव र मानसिक सन्तुलनका लागि नियमित ध्यान अभ्यास अनिवार्य रहेको उल्लेख गरे । उनले ध्यानले तनाव व्यवस्थापन, शारीरिक–मानसिक स्वास्थ्य वृद्धि तथा सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताए । जीवन–विज्ञान प्रतिष्ठानका प्रशिक्षक चन्द्रबहादुर क्षेत्रीले ध्यानका वैज्ञानिक पक्ष, व्यावहारिक विधिहरु तथा दैनन्दिन जीवनमा ध्यानका फाइदाबारे प्रस्तुति दिए ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई करिब १५ मिनेटको सामूहिक ध्यान सत्रमार्फत अभ्यास पनि गराइएको थियो । दूतावासका अनुसार विश्व ध्यान दिवस मनाउनुले नेपाली समुदायभित्र स्वस्थ र सन्तुलित जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । दूतावासले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।