समाचार

बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर

बागलुङ जिल्लाको साविक सुखौरा गाविस, हाल बरेङ गाउँपालिका वडा नंं.–५, गुल्मी र बागलुङको सिमानामा पर्ने एक दुर्गम पहाडी भुगोल । यही भुगोलमा विक्रम संवत् २०३८ सालमा जन्मिएका हुन् राजेन्द्रकुमार शर्मा, जसलाई आज धेरैले आरके शर्माका नामले चिन्छन् । अहिले अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रमा सफल उद्यमीका रुपमा स्थापित शर्माको बाल्यकाल भने अभाव, संघर्ष र कठिन परिश्रमले भरिएको थियो ।


सुखौरामा बस्दाको पारिवारिक आर्थिक अवस्था निम्न–मध्यम थियो । गाउँका अधिकांश परिवारलाई आफ्नै खेतबारीको उब्जनीले छ महिना पनि धान्न मुस्किल पथ्र्यो । यही बाध्यताले आरकेका बुवा भारतको गुहावटीमा रोजगारी गर्न जान्थे । तर, आर्थिक अभावका बीच पनि शर्माको परिवार सामाजिक चेतना र सेवाभावले परिचित थियो । पछि उनका बुवा गाउँका उपप्रधानपञ्च भइसकेका व्यक्ति थिए ।

गाउँमा कुनै समस्या आए वा सामूहिक निर्णय आवश्यक परे, वा तत्कालीन समय माँ विधालय स्थापना सिक्षक माग वा गाउँका समस्या समाधानका लागि जिल्ला जानेबारे गाउँलेहरु शर्मा परिवारकै आँगनमा सल्लाह लिन आइपुग्थे । समाजसेवाको यही संस्कारले आरकेको बालमनमा नेतृत्व, जिम्मेवारी र सहानुभूतिका बीउ रोपिदिएको थियो ।


बाल्यकालमै उनले गाउँले जीवनको कठोर यथार्थ नजिकबाट देखे । त्यो समय गाउँमा धेरैले चप्पलसमेत लगाउने चलन थिएन । चिसो मौसममा पनि नाङ्गो खुट्टै घाँसदाउरा गर्नुपथ्र्यो । बिहान–बेलुकी घाँसदाउरा, खेतपातीको काम र पढाइ–यिनैबीच आरकेको दैनिकी बित्थ्यो । झण्डै एक घण्टा पैदल हिंडेर पुगिने गाउँकै विद्यालयबाट उनले प्राथमिक तहको अध्ययन पूरा गरे ।

शारीरिक श्रम र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु नै उनको पहिलो संघर्षको पाठशाला थियो ।
विस २०५० सालमा प्राथमिक शिक्षा सकेपछि परिवार चितवन बसाइँ स¥यो । तर, आरके भने पढाइ निरन्तरता दिन दिदी घर नवलपरासी पुगे । त्यहाँको भीमसेन आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि उनी पुनः परिवारसँगै चितवन फर्किए । चितवनको विश्व प्रकाश माध्यमिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरे । बसाइँसराइ, नयाँ वातावरण र सीमित साधनका बाबजुद पनि उनले पढाइप्रति कहिल्यै हार मानेनन् । अध्ययनलाई निरन्तरता दिए ।


गरिबी, आर्थिक अभाव र श्रमको मूल्यलाई नजिकबाट नियाल्दै हुर्किएका आरके शर्माले करिब २३ वर्षअघि जीवनका दुईवटा मात्र लक्ष्य बोकेर विदेसिने निर्णय गरे । त्यो गन्तव्य थियो– कतार । सपना ठूलो थियो, साधन साना थिए । तर, उनले भरोसा गरेका थिए आफ्नै मेहनत र इमानदार श्रममा ।


कतारमा सुरुवाती दिनहरु सजिला थिएनन् । धेरै घण्टा काम, नयाँ भाषा, नयाँ संस्कृति र प्रतिस्पर्धाले उनलाई बारम्बार चुनौती दियो । तर, सुखौराको पहाडमा घाँसदाउरा गर्दै हुर्किएको मनोबलले उनलाई थाक्न दिएन । उनले प्रत्येक अवसरलाई सिकाइका रुपमा लिए, अनुभव संकलन गरे र बिस्तारै आफ्नै बाटो निर्माण गरे ।


आज आरके शर्मा केवल एक सफल व्यवसायी मात्र होइनन्, संघर्षबाट सम्भावनातर्फ उक्लिएको एउटा प्रेरक पात्र हुन् । मेहनत, धैर्य र दूरदृष्टिको मेलले उनले व्यावसायिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् । गाउँको साधारण परिवेशबाट उठेर अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान बनाउनु उनको यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।


विश्वसन्देशको यस अंकमा हामी यही यात्राको कथा प्रस्तुत गर्दैछौं– सुखौराको माटो, घाँसदाउरा र संघर्षबाट जन्मिएको एउटा सपना, जसले निरन्तर मेहनतका बलमा विश्वव्यापी सफलता चुम्न सकेको छ । आरके शर्माको जीवनकथा आजका युवाका लागि मात्र होइन, हरेक संघर्षरत मनका लागि प्रेरणाको उज्यालो दीप हो ।

चितवनदेखि मध्यपूर्व र अमेरिकासम्म
चितवन बसाइँसराइपछि राजेन्द्रकुमार शर्मा (आरके शर्मा)को परिवारको जीवन झन् चुनौतीपूर्ण बन्यो । पाँच भाइ र तीन दिदीबहिनीसहितको ठूलो परिवार, दाजुहरुको उद्यममा ठूलो नोक्सान बेहोर्दा करिब ७० प्रतिशत सम्पत्ति विक्रीपछि सीमित आम्दानी र बढ्दो खर्चले घरको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गयो । पहाडको संघर्षपछि तराईमा सहज जीवनको अपेक्षा गरिएको थियो, तर चितवनले पनि आरकेको परिवारलाई सहजता दिएन । संघर्ष त गरियो, तर आर्थिक अभाव टार्न सकिने अवस्था बनेन ।


प्लस टु अध्ययन पूरा गरेपछि आरकेले परिवारको आर्थिक बोझ हल्का बनाउने उद्देश्यले भारत जाने निर्णय गरे । सपना थियो– काम पाइएला, आम्दानी होला र घरको अवस्था केही सुध्रेला । तर, भारत पुगेपछि वास्तविकता निकै कठोर साबित भयो । रोजगारी खोज्दै उनले धेरै हण्डर खानुप¥यो । दिनौंसम्म काम नपाएर भौंतारिनु, अपरिचित ठाउँमा असहज जीवन बिताउनु, यी सबै अनुभवले उनलाई झन् परिपक्व बनाउँदै लग्यो ।

अन्ततः उनले एक ट्राभल एजेन्सीमा रोजगारी पाए । पढाइ–लेखाइ भएकाले उनलाई ट्राभल एजेन्सीमा उधारो रकम उठाउने जिम्मेवारी दिइयो । यही जिम्मेवारीले आरकेको जीवनको दिशा नै बदलिदियो । उधारो रकम उठाउने सिलसिलामै उनी करिब २३ वर्षअघि कतार पुगे । त्यो यात्राले केवल रकम संकलन गर्ने काम मात्र दिएन, जीवनको नयाँ अध्याय खोलिदियो ।


त्यो समय आरकेको मन अत्यन्तै तनावग्रस्त थियो । बुवा–आमा दुवै दमको रोगबाट पीडित थिए । उपचार खर्चको चिन्ता, घरमा नवजात छोरीको जिम्मेवारी– यी सबैले उनलाई भित्रैदेखि दबाइरहेका थिए । कतार पुगेर उधारो उठाउने व्यक्तिसँग भेट हुँदा भने उनले अर्कै यथार्थ देखे । आरके सम्झन्छन्, ‘उधारो रकम उठाउन गएको थिएँ, तर ती व्यक्ति आफैं गहिरो आर्थिक समस्यामा परेका रहेछन् । त्यसपछि मैले आफ्नो अवस्था सम्झिएँ र कतारमै बसेर काम गर्ने निर्णय लिएँ ।’


त्यही निर्णय आरकेको जीवनको टर्निङ पोइन्ट बन्यो । उनले कतारमै काम खोजे र कतारीहरुसँग मिलेर काम गर्न थाले । सुरुमा उनी एक निर्माण कम्पनीमा एकाउन्टेन्टका रुपमा आबद्ध भए । कामसँगै उनले व्यवस्थापन, वित्तीय अनुशासन र व्यावसायिक संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवका आधारमा उनले पछि क्याटरिङ र निर्माण व्यवसायमा लगानी गरे ।


कतारमा संघर्षका दिनहरु बिताउँदै गर्दा उनलाई आफ्ना बुवाका शब्द सधैं सम्झनामा आउँथे । आरके भन्छन्, ‘बुवाले जहिल्यै पनि जागिरभन्दा व्यवसाय गर्न प्रेरित गर्नुहुन्थ्यो । आफ्नै केही गर्नुपर्छ भन्ने उहाँको प्रेरणाले नै मलाई अघि बढायो ।’ बुवाको त्यही सोच र विश्वास आज उनको सफलताको आधार बनेको छ ।


समयसँगै आरके शर्मा कतारमै बसेर आफ्नो आर्थिक अवस्था सुधार गर्ने दिशामा केन्द्रित भए । निर्माण कम्पनीमा एकाउन्टेन्टबाट सुरु भएको यात्रा लगानीकर्ता र सञ्चालकसम्म आइपुग्यो । आज उनी कतारस्थित पिजन इन्जिनियरिङका सञ्चालक हुन् । उनका कम्पनीहरु अहिले हस्पिटालिटी, सेक्युरिटी र पूर्वाधार विकासका क्षेत्रमा सक्रिय छन् । यी व्यवसायहरु केवल कतारमै सीमित छैनन्– मध्यपूर्वका विभिन्न देशदेखि अमेरिकासम्म फैलिएका छन् ।


आरके शर्माको नेतृत्वमा रहेका कम्पनीहरुले झण्डै ३ हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । कतारमा आयोजना भएको फिफा विश्वकपका बेला भने उनका कम्पनीहरुले ४५ सयसम्मलाई रोजगारी उपलब्ध गराएका थिए । कतार फिफा विश्वकपका धेरै क्षेत्रहरुमा शर्माकै नेतृत्वका कम्पनीहरु सूचिकृत थिए । निर्माण, हाउसकिपिङ, सेक्युरिटी र हस्पिटालिटी सेवा प्रदान गरेका थिए, जुन उनको व्यावसायिक विश्वसनीयताको प्रमाण हो । फिफाले पनि उनका कम्पनीलाई विश्वसनीय भन्दै टिप्पणी गरेको थियो ।


निर्माण क्षेत्रलाई प्राथमिकतामा राखे पनि उनका कम्पनीहरु हाउसकिपिङ, हस्पिटालिटी, रियल इस्टेट र सेक्युरिटी सर्भिसमा समान रुपमा सक्रिय छन् । आज आरके शर्माको व्यवसाय मध्यपूर्वदेखि अमेरिकासम्म बिस्तार भइसकेको छ– जसले एक समय आर्थिक अभावमा भारत भौंतारिएको युवालाई अन्तर्राष्ट्रिय उद्यमीका रुपमा स्थापित गरेको छ ।


चितवनको संघर्ष, भारतको हण्डर र कतारको अवसर । यी सबै चरण पार गर्दै आरके शर्माले प्रमाणित गरेका छन् कि सपना ठूलो हुनुपर्छ, तर त्यसलाई पूरा गर्ने साहस र धैर्य अझ ठूलो । उनको कथा आज हजारौं युवाका लागि आशा र प्रेरणाको उदाहरण बनेको छ ।

१८ घण्टा कामदेखि व्यावसायिक साम्राज्यसम्म
आरके शर्माको सफलताको कथा चम्किलो उपलब्धिको मात्र होइन, निरन्तर संघर्ष र अथक मेहनतको दस्तावेज हो । आज हजारौंलाई रोजगारी दिने उद्यमी बनेका शर्मा आफ्ना सुरुवाती दिन सम्झँदा भन्छन्– ‘मैले कतिपय दिन १८ घन्टासम्म काम गरें ।’ लामो समय उनी विदाबिनै काममा खटिए । छ वर्षसम्म लगातार १५ घण्टासम्म काम गर्नु उनको दैनिकी बन्यो । त्यही पसिना, अनुशासन र धैर्यको परिणामस्वरुप आज उनका कम्पनीहरुको पे–रोलमा झण्डै ३ हजार कर्मचारी आबद्ध छन् ।


शर्मा आफूले गरेको मेहनतले एक दिन सफलता त अवश्य दिन्छ भन्ने विश्वासमा थिए । तर, यति छिट्टै, यति ठूलो सफलता हात लाग्ला भन्ने कल्पना भने उनले गरेका थिएनन् । सामान्य जीवन चलाउने, बिरामी बुवा–आमाको उपचार गर्ने र परिवारलाई आर्थिक सुरक्षा दिने उद्देश्य लिएर कतार पुगेका उनी आज एउटा सशक्त व्यावसायिक साम्राज्यका सञ्चालक बनेका छन् । उनको लगानी विदेशमा मात्र सीमित छैन– नेपालका विभिन्न क्षेत्रमा पनि फैलिएको छ, जसले मातृभूमिप्रतिको उनको प्रतिबद्धता झल्काउँछ ।


सफलतासँगै शर्माले सामाजिक उत्तरदायित्वलाई कहिल्यै भुलेनन् । नेपालमा अप्ठ्यारो पर्दा, प्राकृतिक विपत्तिका बेला वा मानवीय संकट आउँदा उनले मन फुकाएर सहयोग गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र पनि उनी अदक्ष श्रमिकका साथीका रुपमा परिचित छन् ।

श्रमिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका शर्माले विदेशमा पसिना बगाउने नेपाली श्रमिकको सम्मान र सुरक्षा नै देश विकासको आधार हो भन्ने विश्वास राख्छन् । आफूसँग काम गर्ने श्रमिकप्रतिको उनको सोच व्यवहारमै देखिन्छ । उनी गर्वका साथ भन्छन्, ‘मसँग काम गर्ने झण्डै ३ सय सहकर्मीका छोरा–छोरी आज इन्जिनीयर, नर्स, डाक्टर र पाइलट पढिरहेका छन् ।’

श्रमिकका सन्तानले राम्रो शिक्षा पाएको देख्दा उनलाई असाध्यै सन्तुष्टि मिल्छ । उनका लागि यो केवल व्यक्तिगत खुसी होइन, सामाजिक परिवर्तनको संकेत हो ।
मध्यपूर्व र मलेसियासमेत जोड्दा झण्डै ३० लाख नेपाली श्रमिक कार्यरत छन् । उनीहरुलाई केवल श्रम बेच्ने हैन, दक्ष जनशक्तिका रुपमा रूपान्तरण गर्नुपर्नेमा शर्माको जोड छ ।

उनी भन्छन्, ‘ग्याजेट र प्रविधिको सही प्रयोग गर्न सके अदक्ष कामदारलाई पनि दक्ष बनाउन सकिन्छ । सरकार र एनआरएनएले अबका १० वर्षमा कस्ता सम्भावना छन् भन्ने अध्ययन गरेर दीर्घकालीन योजना बनाउनुपर्छ ।’ आफूले गर्न सक्ने ठाउँबाट पहल गरिरहेको उनी स्पष्ट पार्छन् । उनको विश्वासमा, नेपालको गरिबी घटाउने निरन्तर काम गर्ने वास्तविक शक्ति भनेका यही श्रमिक दाजुभाइ तथा दिदीबहिनी हुन् ।


एनआरएनएभित्र विभिन्न समूहमा विभाजित अवस्थालाई एकतामा ल्याउन पनि शर्माको भूमिका निर्णायक रह्यो । एक समय उनी स्वयं एउटा समूहको अध्यक्षका रुपमा काम गरे । तर, पछिल्लो अधिवेशनमा नेतृत्वमा नआउने घोषणा गर्दै उनले दुई समूह जोड्ने पुलको भूमिका निर्वाह गरे । अहिले उनी स्टेरिङ कमिटीमा बसेर संस्थागत एकता र सुधारका लागि सक्रिय छन् । उनको ध्यान एकताको १२औं महाधिवेशन सफल पार्नमा केन्द्रित छ ।

पदभन्दा उद्देश्य ठूलो हुनुपर्छ भन्ने उनको व्यावहारिक उदाहरण हो । उनी पछिल्लो समय विदेशमा रहेका नेपालीका हकअधिकारका लागि पोर्चुगलमा दूतावास स्थापना गर्न होस् वा इराकमा पासपोर्ट नवीकरणका लागि घुम्ती शिविरदेखि, कोभिडको बेला मध्यपूर्वबाट ५६० अक्सिजन सिलिण्डर एयरलिफ्टबाट पठाउने संयोजन होस् वा उनको निजी पहलमा भूकम्पका बेला धादिङको पूराई सेर्थुंगवासीलाई न्यानो कम्बल बाँड्ने काम लगायत मानवीय कार्य वा बेलाबेला सीमान्तकृत चेपाङ विधार्थीलाई छात्रवृत्तिका लागि आरके शर्माको आरोह–अवरोधले भरिएको जीवन यात्राले एउटा स्पष्ट सन्देश दिन्छ– मेहनत कहिल्यै खेर जाँदैन ।

गाउँको सामान्य परिवेश, आर्थिक अभाव, विदेशको कठोर श्रम र निरन्तर संघर्ष पार गर्दै उनले प्रमाणित गरेका छन् । इमानदार, मेहनत, धैर्य र सामाजिक उत्तरदायित्वसँगै अघि बढे एक दिन अवश्य सफलताको शिखरमा पुगिन्छ । उनको जीवनका विभिन्न पाटाबाट यही शिक्षा पाइन्छ– आज पसिना बगाउनेले भोलि केवल आफ्नै होइन, अरुको जीवन पनि उज्यालो बनाउन सक्छ ।


उनले अध्ययनलाई पनि लगातार अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ कोभिडको बेलामा विश्वको नम्बर वान युनिभर्सिटी एचसी पेरिसबाट साना तथा मझौले उधम अनि मुख्य विषय लियर एमबीए अध्ययन गरेका छन् भने उनले रेमिट्यान्सको सामूहिक लगानी प्राधिकरण स्थापना गरेर कसरी राष्ट्र विकास र श्रमिकको आर्थिक अवस्था मजबुत गराउन सकिन्छ भन्ने विषयमा थेसिस लेखेका छन् । अहिले उनी बेलायतको प्रसिद्ध विश्वविधालय डरहम युनिभर्सिटीबाट उद्यमशीलताका बारेमा डक्टरेट अन बिजनेस एडमिनिस्टे«ेसन अध्यनरत छन् ।