मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु, एक व्यक्ति हिरासतमा
वेस्ट पोइन्ट (मिसिसिपी), २७ पुस (रासस–एपी) । अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको शृङ्खलामा परी छ जनाको ज्यान गएको छ । उक्त घटनापछि शनिबार एक जना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा अलाबामा राज्यको सीमा नजिकै पर्ने वेस्ट पोइन्ट सहरमा ‘हिंसाका कारण’ धेरै निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको बताए । उनका अनुसार घटनाहरू फरक–फरक तीन स्थानमा भएका थिए, जहाँ कुल छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
शेरिफ स्कटले स्थानीय सञ्चार माध्यम डब्ल्युटिभिएसँग कुरा गर्दै तीनवटै स्थानमा भएको गोलीबारी एकआपसमा सम्बन्धित रहेको र ती घटनाबाट छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनासँग सम्बन्धित एक संदिग्धलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिइसकेका छन् । सामाजिक सञ्जालमार्फत नै शेरिफ स्कटले हाल समुदायका लागि कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन् ।
“म सबैलाई अनुरोध गर्दछु कि कृपया पीडितहरू तथा उनीहरूका परिवारजनलाई आफ्ना प्रार्थनामा सम्झिनुहोस्”, उनले लेखेका छन्, उनले कानून कार्यान्वय गर्ने निकायहरू घटनाको गहिरो अनुसन्धानमा व्यस्त रहेको र सम्भव भएसम्म चाँडै थप जानकारी सार्वजनिक गरिने पनि उल्लेख गरेका छन् ।