फिचर

इण्डियन आइडल प्रशान्त तामाङको निधन

काठमाडौँ, २७ पुसः गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ । उनको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ । सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रिय भएका थिए । उनले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभियनले राम्रो छाप छोडेका थिए । उनको गायनसँगै अभियनसमेत दर्शकले मन पराएका थिए ।

‘हिम्मत–२’ बाट नेपाली चलचित्रमा पाश्र्वगायकका रुपमा प्रवेश गरेका प्रशान्तले ‘गोर्खा पल्टन’ चलचित्रमा अभियन गरेर अझै लोकप्रियता कमाएका थिए । उनको अभियन यात्रा यसै चलचित्रबाट सुरु भएको थियो । अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक तामाङ काम गर्दाको क्षण अविस्मरणीय रहेको लेख्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेकी छिन् ।

उनका अनुसार सन् २०१० देखि २०११ को समयमा तामाङको स्वरले सजिएको गीत ‘मनसाइली’ मा अभिनय गर्दा निकै अमूल्य पलहरू सँगालेको स्मरण गरिन् । परदेशी–२ मा उहाँसँगै काम गर्दाका सम्झनाहरू, मुस्कान जीवन्त रहेको बताइन् । अभिनेत्री दिपाश्री निरौलाले तामाङलाई भावपूर्वक सम्झँदै पुराना तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छिन् । गायन, अभियन मात्रै नभई तामाङको मित्रवत् व्यवहारको उनले प्रशंसा गरेकी छिन् । ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी–२’ मा नारायण रायमाझीको निर्देशनमा तामाङले चलचित्र अभियन गरेका थिए ।