आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै
न्युयोर्क, १ माघ, (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वकालमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) का हिरासत केन्द्रहरूमा आप्रवासीहरूको मृत्यु बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । जनवरी ७ मा मिनियापोलिस, मिनेसोटामा प्रदर्शनकारी रेनी निकोल गुडमाथि भएको घातक गोलीकाण्डपछि आइसिईले प्रयोग गर्दै आएको टकरावपूर्ण रणनीति पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ ।
तर आइसिईले आफैँ सार्वजनिक गरेको विवरणले अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका व्यक्तिहरूका लागि ती स्थानहरू अझै जोखिमपूर्ण र कहिलेकाहीँ घातकसमेत बन्ने गरेको देखाएको छ । एजेन्सीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२६ को सुरुआती केही दिनमै हिरासतमा रहेका धेरै व्यक्तिको मृत्यु भएको खुलासा गरिएको छ । यो अवस्था त्यही समयपछि आएको हो, जब सन् २०२५ मा आइसिई हिरासतमा आप्रवासी कैदीहरूको मृत्यु दुई दशककै उच्च स्तरमा पुगेको थियो र हिरासतमा राखिने व्यक्तिको सङ्ख्या तीव्र गतिमा बढेको थियो ।
आइसिईको तथ्याङ्कअनुसार डिसेम्बर २०२५ को अन्त्यसम्म ६८ हजारभन्दा बढी वयस्कहरू आइसिई हिरासतमा थिए । यो सङ्ख्या डिसेम्बर २०२३ मा करिब ३६ हजार मात्रै रहेको थियो, जसले छोटो अवधिमै हिरासतमा रहेकाहरूको सङ्ख्या झन्डै दोब्बर भएको देखाउँछ ।
सन् २०२६ को सुरुआतदेखि अहिलेसम्म आइसिईको हिरासतमा रहँदा कम्तीमा चार जनाको मृत्यु भइसकेको एजेन्सीले जनाएको छ । यी सबै मृत्यु वर्षको पहिलो १० दिनभित्र भएका हुन् । जनवरी ९ र १० को अवधिमा मात्र तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो । मृतकहरू सबै पुरुष थिए, जसको उमेर ४२ देखि ६८ वर्षबीच रहेको बताइएको छ । तीमध्ये दुई जना होन्डुरसका नागरिक, एक जना क्युबाली र एक जना कम्बोडियाली नागरिक थिए ।
आइसिईका अनुसार दुई जनाको मृत्यु ‘मुटुसम्बन्धी स्वास्थ्य समस्या’ का कारण भएको थियो भने बाँकी दुई घटनाको स्पष्ट कारण उल्लेख गरिएको थिएन । पछिल्ला घटनामध्ये एउटा मात्रै ‘अनुसन्धान अन्तर्गत’ भनेर सूचीबद्ध गरिएको छ । सन् २०२५ लाई आइसिई हिरासतमा रहेका आप्रवासीहरूका लागि पछिल्ला २० वर्षकै सबैभन्दा घातक वर्षका रूपमा लिइएको छ । उक्त वर्ष अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका कम्तीमा ३० जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २००४ मा आइसिई स्थापना भएपछिको सबैभन्दा उच्च हो ।
सन् २०२५ को मृत्यु सङ्ख्याले बाइडेन प्रशासनकाल ९सन् २०२१–२०२५० को सम्पूर्ण अवधिमा आइसिई हिरासतमा रेकर्ड गरिएका कुल मृत्यु सङ्ख्याभन्दा पनि बढी प्रतिनिधित्व गरेको छ । आइसिईका प्रतिवेदनहरूका आधारमा अमेरिकी अध्यागमन वकिल सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार ती चार वर्षमा हिरासतमा रहँदा जम्मा २६ जनाको मृत्यु भएको थियो ।
बाह्य पर्यवेक्षक र मानवअधिकार संस्थाहरूले आइसिई हिरासत केन्द्रहरूमा बन्दीहरूले पाउने चिकित्सा उपचारको स्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकन सिभिल लिबर्टीज युनियन (एसिएलयु) ले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा आइसिई हिरासतमा भएका ९५ प्रतिशत मृत्यु उचित हेरचाह उपलब्ध गराइएको भए रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालिएको थियो ।
उक्त प्रतिवेदन सार्वजनिक अभिलेख अनुरोधमार्फत प्राप्त हजारौँ पृष्ठ कागजातको अध्ययनका आधारमा तयार पारिएको थियो । यसमा सन् २०१७ देखि २०२१ को अवधिमा आइसिई हिरासतमा भएका मृत्युहरूको विस्तृत विश्लेषण गरिएको थियो । ती कागजातहरूको समीक्षा गर्ने चिकित्सा विज्ञहरूले गलत वा अनुपयुक्त उपचारका साथै अत्यधिक ढिलाइ भएको चिकित्सा सेवाका व्यापक प्रमाणहरू फेला पारेका थिए ।