विश्वकप खेल्न जाने टोलीलाई गरियो बिदाई
३ माघ, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका छन् । सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गरे । आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपियाँ दिने घोषणा समेत शर्माले गरे ।
डा. शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकार समक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेन्सन दिन माग राखे । चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गरे । यसपल्ट नेपाली टोलीले देशलाई गर्व गर्न लायक बनाउने उनको विश्वास छ ।
क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए । नेपाली क्रिकेट खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ खेलाडीले गर्ने सबै गतिविधिले प्रभाव पार्ने भएकाले अनुशासित हुन पारसले सुझाव दिए । उनले विश्वकपपछि पनि एउटा टेस्ट राष्ट्रसँग खेल्नका लागि प्रक्रिया चलिरहेको बताए । वेस्ट इन्डिजसँगको जितपछि नेपाली टोलीमा उत्साह बढेकाले पनि टेस्ट राष्ट्रसँग शृङ्खला आयोजना गर्न लागिएको उनको भनाइ छ । नतिजा आफू अनुकुल नभए पनि यो विश्वकप एउटा ठुलो अवसर रहेको उनको भनाइ छ ।
पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । दोस्रो पल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ । यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश छन् ।