समाचार

सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

१३ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सबै सम्भव परियोजना अघि बढाउन निर्देशन दिएका छन्। लगानी बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना लगायतका प्रस्ताव प्राप्त भएका छन्।

बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँग समन्वयमा समस्या समाधानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
१३ माघ, काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्ड उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सम्भव सबै परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसार अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजना अघि बढाउन निर्देशन दिएका हुन् । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारी विषयमा जानकारी गराएका थिए । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रिन हाइड्रोजन, पोडवे लगायत प्रस्ताव प्राप्त भएका छन् ।

त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ परियोजना स्वीकृत भएको जानकारी गराए । बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वय लगायत विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।