नेपालमा बिसं. २००७ सालमा प्राप्त प्रजातन्त्रको वास्तविकता
योगेश आदी
नेपालमा २००७ सालमा प्रजातन्त्र आउनुको सामान्य कारण सबैलाई थाहा होला तर खास कारण अलि फरक छ ।
बिसं १९०३ को कोतपर्वपछि जंगबहादुर कुँवरले शुरु गरेको निरंकुश राणा शासन नेपालमा १०४ वर्ष अंग्रेजको संरक्षणमा निर्बाध चल्यो । जबसम्म भारतमा बकिङ्घम प्यालेसको हुकुमत चल्यो । तबसम्म बेलायतले नेपालको राणा शासनलाई बफादार मान्यो । राणा शासनले पनि बेलायतको त्यो गुण गान्धी-नेहरु- बोस- पटेलको “भारत छोडो आन्दोलन” दबाउन अँग्रेजको सहयोगमा नेपाली सेना पठाएर तिर्न खोज्यो । इमान्दारपूर्वक भन्ने नै हो भने बेलायतको इष्ट इण्डिया कम्पनीसँग कुटनीतिक साँठगाँठ गरेर जंगबहादुरको खलकले नेपालको स्वाधिनता सर्लक्कै जोगाएका थिए ।
जंगबहादुरको कुटनीतिलाई बेलायती इतिहासले तारिफ गरेको छ । थप बाँके बर्दिया कैलाली कञ्चनपुरलाई पनि बक्सिसमा नै सही, देशको भूभागमा जोडे । नत्र संसारको ८३% भूभागमा कब्जा जमाएको बखत बेलायतले नेपाल लिनु कदापि कठिन थिएन ।
आखिरमा बेलायती साम्राज्यको यति बलियो संरक्षणमा ठडिएको राणा शासन किन र कसरी ढल्यो ?
उत्तर सजिलो छ । भारतलाई अँग्रेजले बिसं. २००३ (1947 AD) सालमा सत्ता छोडेर बेलायत नफर्केको भए २००७ सालमा भारतले आफ्नो देशको शरणमा आएको राजा त्रिभुवनलाई अघि लगाएर नेपालमा प्रजातन्त्र दिने थिएन । किनकि जतिबेला दोश्रो विश्वयुद्धमा एलाइड फोर्स (जापान जर्मनी इटाली) बलियो बन्दै गइरहेको थियो त्यतिबेला (1940 AD) अँग्रेजहरुको ध्यान युद्धमा भएको मौका छोपेर अंग्रेजविरुद्ध ‘भारत छोडो आन्दोलन’ को आधिकारिक बिजारोपण भारतीय नेताहरुले विभिन्न प्रजा परिषद मार्फत गरेका थिए ।
सो आन्दोलनलाई सघाउन मातृका, बिपि कोइराला, टंकप्रसाद आचार्य, शुवर्ण समशेर (तेश्रो श्रेणीको राणा करार दिएर राणाको शोषणा परेको राणा) आदि भारतबाटै नेहरु र बल्लभ पटेलको टोलीमा थिए । बिपिलाई आफ्नो पिता कृष्णप्रसाद कोइरालालाई राणाले देश निकाला गरेको बदला लिनु थियो । भारतबाट अँग्रेज नहटी नेपालबाट राणा शासन नहट्ने पक्का थियो । सो बुझेका नेपाली नेताहरुले राजा त्रिभुवन र भारतका नेताको सहयोगमा भारतबाटै नेपालमा राणा शासनलाई धक्का दिइ नै रहे ।
सोही ताका भारतमा नै नेपाल प्रजा परिषद स्थापना गरि भारतको नैनितालमा पढ्दै गरेका दशरथ चन्द, भारतमै जन्मेका पन्जाब युनुभर्सिटी अध्ययन गरेका शुक्रराज शास्त्री, स्कटिश चर्च कलेज कलकत्तामा अध्ययन गरेका जोशिला बडिबिल्डर धर्मभक्त माथेमालाई नेपालको राणा शासन बिरुद्ध पर्चा छर्न र नेपालमा प्रजा परिषदको गतिबिधि गर्न खटाए । सोही गतिविधिमा रामेछापका २१ वर्षे युवा गंगालाल श्रेष्ठ पनि अग्रपंतिमा खटिए । तर राणा प्रधानमन्त्री जुद्ध समशेरले ४ जनालाई नै मारिदिए । उता भारतमा बसेका नेपाल प्रजा परिषदका नेताहरु भुमिगत जस्तै रहे ।
जब सन् १९४५ मा दोश्रो विश्व युद्ध सकियो । बेलायत अमेरिका लगायतका अलायन देशहरुले युद्ध जिते । जित पश्चात बेलायत, फ्रान्स, स्पेन, अमेरिका आदि देशहरुले भटाभट आफ्ना उपनिवेशहरुलाई आन्सिक वा पूर्णरुपमा स्वतन्त्रता दिन थाले । करिब ४० देशहरुलाई दोश्रो विश्व युद्धपछि बेलायतले स्वतन्त्रता दिएका थिए । विश्लेषकहरु के पनि भन्छन् भने भारत छोडो आन्दोलनलको कारणले मात्र भारत स्वतन्त्र भएको होइन । आन्दोलन नै नगरेको भएपनि स्वतन्त्र बन्ने लाइन मै थिए । अँग्रेजहरु विश्वयुद्धको मानवीय क्षति र आर्थिक बोझले देश बाहिरको प्रसासनिक मामला र उपनिवेशिक साशनबाट आफै मुक्ति चाहन थालेका थिए । भारतमा न सुन थिए न तेल ।
भारतलाई स्वतन्त्र छाडेर बेलायतीहरु फर्किएपछि भारतमा गान्धीको कृपामा बल्लभभाई पटेललाई धोका दिएर नेहरु भारतको प्रधानमन्त्री बने । तत्पश्चात मात्र भारतीय नेताहरुको चासोमा नेपालको प्रजातन्त्र पर्यो ।
बेलायतीले भारत छोडेपछि कमजोर बनेको राणा शासनको इच्छा बिपरित भारतले नेपालमा राणा विरोधि आन्दोलनलाई सबै खालको सहयोग खुलेरै गर्न थाले । बिसं. २००७ सालको प्रजातन्त्रको नाममा धेरैले जश लिए । आखिर भुराजनीतिक उथुलपुथुलको कारण सबै परिणाम सहज बनेको थियो । अनाहकमा धेरैले छोराछोरी गुमाए । बेकारमा कोही सहिद बने । समयले दिएपछि प्राप्त भएको, छिमेकको इच्छाले प्रदान गरिएको प्रजातन्त्रको नाममा धेरैले राजनीति गरे । पुर्खाको ब्याजसरह पार्टी चलाए । बलवान समय थियो । आन्दोलन थिएन ।