समाचार

यूएई हाम्रो दोस्रो घर हो–माया गरौं, कानूनको सम्मान गरौं

निश्चल दाहाल
‘अतिथि देवो भवः’ नेपाली समाजको गहिरो संस्कार हो । यो उक्ति सम्मानको मात्र होइन, जिम्मेवारी र सीमाको पनि शिक्षा हो । अतिथि भएर आएको मान्छेले घरधनीको नियम, मर्यादा र संवेदनशीलतालाई बुझ्नुपर्छ । अति भयो भने देवता पनि रिसाउँछन् भन्ने उखान आज यूएईमा बसोवास गरिरहेका नेपालीहरुको सन्दर्भमा केवल उखान होइन, गम्भीर आत्मसमीक्षाको चेतावनी बनेको छ ।


यूएईमा हाल विभिन्न अनुमानअनुसार ८ देखि ९ लाख नेपाली नागरिक कार्यरत छन् । निर्माण, सेवा, होटल, उड्डयन, सुरक्षा, स्वास्थ्य, घरेलु श्रम र व्यापारलगायत प्रायः सबै क्षेत्रमा नेपालीहरुको उपस्थिति छ । यूएईको कुल जनसंख्यामा हाम्रो संख्या सानो भए पनि प्रवासी श्रमिक समुदायभित्र नेपालीहरु उल्लेखनीय छन् । हामी यहाँ नेपालमा अवसर नपाएर मात्र होइन, सुरक्षित वातावरण, व्यवस्थित प्रणाली, समयमै तलब र कानूनको भरोसा भएको देशको खोजीमा आएका हौं ।

यो यथार्थ स्वीकार गर्नु कमजोरी होइन, आत्मसम्मान हो । तर यहींबाट मूल प्रश्न उठ्छ– अवसर पाउनु मात्र पर्याप्त हो कि त्यस अवसरको मर्यादासँग बाँच्नु पनि उत्तिकै आवश्यक हुन्छ ? यूएई कानूनद्वारा शासित मुलुक हो । यहाँका नियम स्पष्ट छन् र कडाइका साथ कार्यान्वयन हुन्छन् । राजनीतिक गतिविधि, सभा–जुलुस, संगठन, नाराबाजी र दलगत क्रियाकलाप कानुनी रुपमा प्रतिबन्धित छन् ।

सामाजिक सञ्जाल कडा निगरानीमा हुन्छ । अफवाह फैलाउने, राज्य वा मित्रराष्ट्रविरुद्ध टिप्पणी गर्ने, धार्मिक वा सामुदायिक भावना भड्काउने सामग्री गम्भीर अपराध मानिन्छ । लागू औषधमा यहाँ शून्य सहनशीलताको नीति छ– सानो मात्रामा सेवन, बोकेको वा अनजानमै ल्याइएको अवस्थामा पनि दीर्घकालीन जेल सजाय हुन सक्छ । मादक पदार्थ तोकिएका होटल वा लाइसेन्स प्राप्त स्थानबाहेक सेवन गर्न पाइँदैन । सार्वजनिक स्थानमा झगडा, गालीगलौज, हात हालाहाल वा अश्लिल व्यवहार सबै कानुनी अपराध हुन् ।

लेखक


यति स्पष्ट नियम हुँदाहुँदै पनि हामीमध्ये केहीले ‘यहाँ पनि त यस्तै चल्छ’ भन्ने भ्रम पालिरहेका छौं । यूएईमा कानून नमान्नु साहस होइन, आत्मघाती मूर्खता हो भन्ने सत्यलाई अझै गम्भीर रुपमा बुझ्न सकिएको छैन । पछिल्ला वर्षहरुमा यूएईमा पक्राउ परेका वा कारबाहीमा परेका नेपालीहरुको सूची हेर्दा चिन्ताजनक तस्वीर देखिन्छ । हुण्डी र ‘मनी लण्डडिङ’, लागू औषध सेवन तथा ओसारपसार, नक्कली कागजात प्रयोग, अवैध बसोवास, श्रम कानून उल्लङ्घन, घरेलु हिंसा र विवाहबाह्य सम्बन्धबाट उत्पन्न कानुनी जटिलता– यी घटनाहरु अपवाद होइनन् ।

संलग्न व्यक्ति संख्या सानो भए पनि यसको असर सारा नेपाली समुदायमा पर्छ । सुरक्षा निकायहरुले व्यक्तिको मात्र होइन, समुदायगत व्यवहार पनि मूल्यांकन गर्छन् । केही व्यक्तिको गैरकानुनी गतिविधिका कारण भोलि नेपालीहरुका लागि भिसा प्रक्रिया कडा हुनु, निगरानी बढ्नु र रोजगारदाताको विश्वास घट्नु सम्भावित जोखिम हुन् । यसलाई व्यक्तिगत मामिला भनेर टार्न मिल्दैन, किनकि यसको मूल्य अन्ततः सारा समुदायले तिर्नुपर्ने हुन्छ ।


विडम्बना के छ भने, विश्वकै सुरक्षित देशहरुमध्ये एकमा बस्दै पनि हाम्रो व्यवहार कहिलेकाहीं असुरक्षित देखिन्छ । अन्तर्राष्ट्रिय सुरक्षा सूचकांकहरुमा यूएई सधैं अग्रपंक्तिमा पर्छ । कम अपराध दर, तीव्र प्रहरी प्रतिक्रिया, कडा कानून र सामाजिक अनुशासनले यहाँ महिलाहरु राति एक्लै हिँड्न सक्ने र परिवार सुरक्षित महसुस गर्ने वातावरण बनाएको छ । यस्तो देशले हामीलाई सुरक्षा मात्र होइन, आत्मसम्मानसहित बाँच्ने अवसर पनि दिएको छ । तर ‘यहाँ त केही हुँदैन’ भन्ने लापरवाह सोच नै यहाँ सबैभन्दा ठूलो जोखिम हो ।


विदेशमा समुदाय नै शक्ति हुनुपर्ने हो । तर यूएईमा नेपाली–नेपालीबीचको गुटबन्दी, तनाव र वैमनस्यता बढ्दो छ । सामाजिक सञ्जालमा खुलेआम गालीगलौज, चरित्र हत्या, व्यक्तिगत रिसइवीलाई सामुदायिक मुद्दा बनाउने प्रवृत्ति सामान्य बन्दै गएको छ । साना विवाद प्रहरी र अदालतसम्म पुग्नु, रोजगारदातासमक्ष एकअर्कालाई बदनाम गर्नु– यी सबै व्यवहारले हामीलाई कमजोर, असंगठित र अविश्वसनीय देखाउँछन् । विदेशी भूमिमा बसेर पनि हामी एकअर्कालाई सहयोगी होइन, प्रतिस्पर्धी शत्रुजस्तै व्यवहार गरिरहेका छौं ।


यूएईमा राजनीति कानुनी रुपमा निषेध छ । तर व्यवहारमा नेपालकै राजनीतिक ध्रुवीकरण यहाँ पनि देखिन्छ । दलगत झण्डा, बैठक र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप भइरहेका छन् । यो यूएईको कानुन मात्र होइन, डायस्पोरा शिष्टाचारको पनि उल्लंघन हो । यहाँ राजनीति गर्नु व्यक्तिगत मात्र होइन, सामुदायिक जोखिम हो भन्ने बुझाइ अझै कमजोर छ ।


दूतावास र कन्सुलेट पूर्ण छैनन्, आलोचना आवश्यक छ । तर प्रमाणबिनाको आरोप, अपमानजनक भाषा र सामाजिक सञ्जालमार्फत नियोगलाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गर्ने प्रवृत्तिले सुधारभन्दा बढी क्षति पु¥याउँछ । विदेशी भूमिमा नेपाली नियोग कमजोर देखिनु भनेको नेपाली नागरिक कमजोर देखिनु हो ।
हुण्डी, तस्करी र मानव बेचबिखन यूएईमा अत्यन्त गम्भीर अपराध हुन् । कानुनी सजायभन्दा पनि गम्भीर प्रश्न नैतिक हो– हामी कस्तो डायस्पोरा निर्माण गरिरहेका छौं ?


डायस्पोरा आत्मबोध बिना टिक्दैन । यूएई हाम्रो दोस्रो घर हो । घरलाई माया गर्नु भनेको त्यहाँका नियमको सम्मान गर्नु हो । स्वतन्त्रता मनपरी होइन, जिम्मेवारी हो । अवसर केवल कमाइ होइन, संस्कारको परीक्षा पनि हो ।
अति नगरौं– यही हाम्रो सुरक्षा, सम्मान र भविष्य हो ।