मनोरञ्जन

कविता : युद्ध रोकिएपछि…

सुरज गैह्रे ‘विवश’

युद्ध…
एक दिन रोकिन्छ ।
हातमा हतियार होइन,
अनि मुटुमा माफ गर्ने आँसु लिएर
मानिस फेरि मानिस हुन सिक्छ ।

तर…
युद्ध रोकियो भन्दैमा
सबै ठिक हुन्छ भनेर नसोच ।
तपाईंले देख्नु हुनेछः
सहर बाँकी छन्– तर मानिस छैनन् ।

कतै बास्ना हराएको हुन्छ…
कतै छायाँ मात्र हिँडिरहेको हुन्छ ।
मानव सभ्यताको किताब खुल्लै हुन्छ–
तर त्यहाँ अक्षर छैन, केवल खरानी ।

‘युद्ध रोकियो…’
भनेर कसैले घन्टी बजाउँछ ।
अनि सुनिन्छ —
‘अब सुरु भयो नयाँ युग ।’

हो, युग सुरु हुन्छ…
तर त्यस युगमा
हामी के बाँच्यौं भन्ने कुरा
कल्पना भन्दा परको पीडा हुन्छ ।

कसैले प्रश्न गर्छः
‘के बाँच्छ ?’
‘के सकिन्छ फेरि सुरु गर्न ?’

बाँच्छ संवेदना ।
बाँच्छ लाज ।
बाँच्छ त्यो हात,
जसले भर्खर युद्धको घाउमा
पहिलो मलम लगायो…

डराउनु पर्दैन, मित्र ।
मृत्यु निश्चित हो —
तर यो मृत्यु युद्धको होइन,
त्यो घमण्डको हो, जुन युद्ध जन्माउँछ ।

त्यसैले…
जब तिमी मलम ल्याउँछौ,
त्यस क्षण
युद्धभन्दा ठूलो विजेता तिमी नै हौ ।