टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
काठमाडौँ, २९ माघः नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे ।
सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरे । प्रधानसेनापति सिग्देलले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा प्रधानसेनापति सिग्देलले प्रधानसेनापति व्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गर्नुभयो ।
प्रकृति संरक्षण ट्रफि प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान, मानार्थ उपसेनानी दर्जामा पदोन्नति पदिकलाई दज्र्यानी चिन्ह प्रदान गरे ।
कार्यक्रममा उनले अवकाशपश्चात् विभिन्न तवरबाट समाजमा पुयाएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरे । सेना दिवस–२०८२ हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष महाशिवरात्रि पर्व आगामी फागुन ३ मनाइँदै छ ।