विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल
५ फागुन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध सान्त्वना जित निकालेको छ । मंगलबार भारतको मुम्बईस्थित वानखडे स्टेडियममा समूह चरणको अन्तिम खेलमा दुई एशोसिएट राष्ट्र नेपाल र स्कटल्याण्ड भिडेका थिए । नेपालको जितमा बलिङमा सोमपाल कामी र ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी चम्किए ।
दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेका कारण आजको खेल प्रतिष्ठाका लागि मात्र थियो । नेपालले १७१ रनको लक्ष्य ३ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा भेट्टायो । दीपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक बनाए । स्कटल्याण्डमाथि ७ विकेटको जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जितको स्वाद समेत चाखेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई हराएको थियो ।
यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।
आजको खेलमा दीपेन्द्रले २३ बलमा ५० रन जोडे । यो प्रतियोगितामा उनले लगातार दुई अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन बनाए । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।
स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।