विश्व

खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

Security forces fire tear gas to disperse a protest against U.S. and Israeli attacks on Iran, at a bridge leading to the fortified Green Zone where the U.S. Embassy is located, in Baghdad, Iraq, Monday, March 2, 2026. (AP Photo/Hadi Mizban)

तेहरान, १८ फागुन (रासस–एएफपी) । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् । “इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,” विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने ।

चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, “अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।” इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ ।

इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पस्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।