समाचार

नेप्से परिसूचकमा लागेको सकारात्मक सर्किटको सन्देश के ?

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लाग्यो । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । बजार खुलेको एक मिनेटभित्रै नेप्से परिसूचकमा १०८ दशमलव ६० अङ्कको वृद्धि देखिएको हो । हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ । विश्लेषकहरुका अनुसार निर्वाचनबाट रास्वपालाई जनताले अत्यधिक बहुमत दिएका छन् । यसले मुलुकमा राजनीतिक स्थायित्व हुने अपेक्षा लगानीकर्ताको छ । राजनीतिक स्थिरताले नीतिगत स्थिरता हुने र त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने आशामा लगानीकर्ता उत्साहित रहेको सन्देश दिएका छन् ।