‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’
काठमाडौँ, २ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री केसीले एकता महाधिवेदनले विश्वभर रहेका करिब ८० लाख नेपालीलाई एकै सूत्रमा बाँध्ने काम गरेको बताएका छन् । सङ्घको एकता महाधिवेशनको समापन समारोहमा उनले सङ्घको इतिहासमा विभिन्न उतार–चढाव भए पनि छोटो समयमै सङ्घ ९२ देशसम्म विस्तार भएको जानकारी दिए । पछिल्ला करिब छ वर्ष विभिन्न परिस्थितिका कारण चुनौतीपूर्ण बनेको र त्यस अवधिमा सङ्गठन दुई भागमा विभाजित भएको उनले स्मरण गरे ।
डा केसीले विभाजनभन्दा पनि एकताबाट अघि बढ्ने सोचका साथ सम्झौतापत्रमार्फत नेतृत्व हस्तान्तरण गरिएको उल्लेख गर्दै सङ्घ पुनः एकताको सूत्रमा बाँधिएको बताए । “हामीले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ एकताको मार्ग रोजेका हौँ । सोहीअनुसार जिम्मेवारी हस्तान्तरण गरेका छौँ”, उनले भने । डा केसीले भदौ २३ र २४ गते भएका घटनाले विश्वभर रहेका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए ।
विदेशमा बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन ‘इ–भोटिङ’ प्रणाली लागू गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले पहिचान जोगाउन गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । सङ्घका अर्का कार्यकारी अध्यक्ष महेश श्रेष्ठले विगतमा केही समय आपसी मतभेद र असमझदारीका कारण सङ्गठन कमजोर बनेको स्वीकार गरे । हाल बृहत् महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा पुगेको र यसले सङ्गठनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
श्रेष्ठका अनुसार सङ्गठनको विभाजनका कारण सङ्घप्रति अविश्वास बढेको र त्यसले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेका थिए । “अब यस्ता विभाजन कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छौँ”, उनले भने, “गैरआवासीय नेपाली नागरिकताले अझै पूर्ण अधिकार पाएका छैनन् । त्यसका लागि र विद्यमान कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग मिलेर काम गर्न गर्छौं ।”
संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताए । संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदासले एकता महाधिवेशनले सकरात्मक सन्देश दिएको भन्दै खुसी व्यक्त गरे ।