स्वास्थ्य

खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

जेनेभा, ५ चैत (रासस–एएफपी) । बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का खोप विज्ञहरूले बुधबार बताएका छन् । मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुर्याउने देखिएको डब्ल्युएचओको खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजिई) ले जनाएको छ। समूहले गत हप्ता आफ्नो द्विवार्षिक बैठक आयोजना गरेको थियो भने कोभिड–१९ खोपको सिफारिसहरू, टाइफाइड खोपको मात्रा तालिका र नियमित खोपमा मुखबाट दिइने पोलियो खोपको मात्रामा ध्यान केन्द्रित गरिएको थियो।

“भविष्यका लागि उदीयमान चुनौतीहरूमा खोप अनुसन्धान र विकासको लागि अनिश्चित कोष र गलत एवं विकृत सूचना रहेका देखिएको छ, जसले खोपमा जनताको विश्वास घटाउँछ,” एसएजिईले बताएको छ । “विश्वासको रक्षा गर्नु र गलत सूचनाको सामना गर्नु सङ्गठनको सन् २०२६ मा प्रमुख लक्ष्य हुनेछ,” समूहले बताएको छ।

डब्ल्यूएचओका खोप प्रमुख केट ओब्रायनले यस वर्ष खास खोप कार्यक्रमहरूको तैनाथीकोे लागि संसाधनहरू लक्षित गरिने बताए । “हामी सङ्क्रामक रोगहरू र खोप कार्यक्रमहरूका लागि साँच्चिकै गहिरो परिवर्तनशील संसारमा छौँ”, उनले भने, “द्वन्द्व, आर्थिक चुनौती र स्वास्थ्य बजेटमा कटौती भइरहेको छ।” खोपमाथिको विश्वास गलत सूचनाका कारण खतरामा परेको उनले बताए ।


अमेरिकी स्वास्थ्य प्रमुख रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि खोप विरोधी बयानबाजी र खोप तथा अटिजमसँग सम्बन्धित गलत दाबीहरूविरूद्ध आवाज उठाउँदै आएका छन् । डब्ल्यूएचओले डिसेम्बरमा जारी गरिएका सबै उपलब्ध प्रमाणहरूको समीक्षाले संयुक्त राज्य अमेरिका र बाहिर प्रचार भइरहेको सिद्धान्तको विपरीत खोप र अटिजमबीच कुनै सम्बन्ध छैन भनेर पुष्टि गरेको थियो ।

“खोपहरूले अटिजम निम्त्याउँदैन र यसले कहिल्यै अटिजम निम्त्याएको छैन,” ओब्रायनले जोड दिए । उनले विगत ५० वर्षमा खोपले १५ करोड ४० लाखको ज्यान बचाएको र खोपमार्फत ३० भन्दा बढी रोगबाट बच्न सकिने बताए । उनले भने, “जोखिम पछाडि हट्ने वा देशहरूले आफ्नो कार्यक्रममा रहेका सबै खोपहरू किन्न नसक्ने भनी निर्णय गर्ने पनि गरेका छन् ।”

– सङ्कट र प्रतिक्रिया चक्र –

समूहले पाकिस्तान र अफगानिस्तानमा ‘वाइल्ड पोलियो भाइरस’को जारी प्रचार र धेरै अफ्रिकी देशहरूमा खोप–व्युत्पन्न टाइप–२ पोलियो भाइरसको लगातार पत्ता लागेकोप्रति चिन्ता व्यक्त गर्यो, जुन खुवाइने पोलियो खोपहरूमा निहित कमजोर जीवित पोलियो भाइरससँग सम्बन्धित एक स्ट्रेन हो। “मध्य पूर्वमा द्वन्द्वले पोलियो भाइरसको थप फैलावटलाई निम्त्याउन सक्छ, जसले त्यसपछि त्यो उन्मूलन लक्ष्यमा पुग्नको लागि बोझ बढाउनेछ,” एसएजिईका अध्यक्ष एन्थोनी स्कटले पत्रकारहरूसँग बताए ।
ओब्रायनले थपे, “युद्धको माध्यमबाट जीवन नष्ट गर्न दिनहुँ अर्बौँ र अरब डलर खर्च भइरहेको छ ।” उनले सोधे, “के हामीले केमा लगानी गरिरहेका छौं भन्ने बारेमा विश्वको प्राथमिकता सिधा छ ?” कोभिड खोपको सन्दर्भमा एसएजिईले भनेको छ, “देशहरूले गम्भीर रोगको उच्च जोखिममा रहेका समूहहरूका लागि वर्षमा दुई पटक नियमित खोपको बारेमा विचार गर्नुपर्दछ, किनकि छ महिनाभन्दा बढी सुरक्षा स्तर घट्दै गएको छ।”

ओब्रायनले भने, “कोभिड–१९ खोपको बजार सीमित सङ्ख्यामा निर्माता र प्रकारहरूमा खुम्चिएको र एमआरएनए खोपहरू प्रमुख रूपमा रहेका छन्।”
उनले कोभिड खोपमा थप लगानीको लागि आह्वान गरे । एक प्राथमिकता कोभिड–१९ भन्दा बढी समाधान गर्ने स्वास्थ्य सेवा र वृद्धहरूमा दोहो¥याइएको खोपको बोझ कम गर्न लामो समयसम्म टिक्ने इन्जेक्सन र प्यान–कोरोनाभाइरस खोपहरू विकास गर्नु हो । “तर अनुसन्धान र विकास कोषले प्रमुख प्रकोपहरू पछ्याउँछ, जसको अर्थ ‘हामी सँधै सङ्कट र प्रतिक्रियाको चक्र’मा छौँ,” उनले भने । एसएजिईका कार्यकारी सचिव एनेलिस वाइल्डर–स्मिथले भने, “हामीलाई वास्तवमै कोभिड खोपहरू चाहिन्छ जसले हल्का रोगमा ठूलो प्रभाव पार्दछ र भाइरसको प्रसारण कम गर्दछ।”