नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण
ईश्वरी न्यौपाने
१५ चैत, सान फ्रान्सिस्को, क्यालिफोर्निया अमेरिका । नेपालका कार्यबाहक राजदूत शरदराज आरणले नेपाल बनाउन प्रवासका नेपालीलाई रातो कार्पेट बिच्छ्याउनु पर्ने बताएका छन् । विदेशमा रहेको नेपाली डायस्पोरा मुलुकको लागि सबैभन्दा ठुलो सम्पत्ती रहेको उल्लेख गर्दै उनले नेपाल निर्माण गर्न नेपाली डायस्पोरालाई स्वागत गर्नुपर्नमा जोड दिए ।
अमेरिकामा ६ महिनादेखि कार्यबाहक राजदूतको जिम्मेवारीमा रहेका आरणले भने, नयाँ नेपाल बनाउने, समुन्नत नेपाल बनाउने समृद्धि नेपाल बनाउनको लागि नेपाली डायस्पोरालाई डिग्निटी सहित नेपालमा बस्ने वातावरण बनाएर उहाँहरुको पूँजी र सिपलाई नेपालमा एट्याक्ट गर्नैपर्छ ।’
नेपाली महावाणिज्य दूताबास सान् फ्रान्सिस्कोद्वारा बुधवार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा वासिंटन डिसीदेखि पुगेका आरणले आत्सम्मान महसुस हुनेगरी यो भूमि मेरो हो, मेरा पुर्खाहरुको पनि हो मेरा अरु सन्ततीहरुको लागि पनि हो भन्ने फिल गराउनु पर्ने बताए ।
त्यसका लागि नीतिगत सुधार, प्रकृयागत सुधारमा जोड दिनुपर्ने उनको भनाई छ । त्यसो हुन सके स्वभाविक रुपमा प्रवासका नेपाली स्वदेश फर्कने उनको भनाई छ । ‘हामीले नेपाल नबुझेको, नेपाली नै नजान्नेलाई नेपाल गईदेउ, नेपालमा लगानी गरिदेउ, नेपालमा व्यापार गर भन्दा उसले नपत्याउने अवस्था छ,’ उनले भने । अब नेपालमा स्थायी सरकार आएको र पार्टीहरुको घोषणा पत्रले सकारात्मक दिशातर्फ नेपाली डायस्पोरालाई तान्न खोजिरहेको उनले बताए ।
अहिले नेपालमा लगानीका लागि सही समय आएको उनको भनाई छ । डायस्पोरा नै सबैभन्दा ठुलो पूँजी भएको उल्लेख गर्दै उनले विश्वकै शक्तिशाली मुलुक अमेरिकामा रहेका नेपालीलाई नेपालमा उच्च दक्ष मानिने बताए । उनले ज्ञान, सूचना र पुँजी सबै हिसाबले उच्च दक्ष वर्गले नेपालको विकासलाई झन् ठुलो योगदान गर्न सक्ने उनले बताए ।
नेपालीलाई पनि नेपालमा समान अधिकार हुनुपर्ने माग जायज रहेको पनि उनको भनाई छ । कानूनमा रहेका कमजोरीकै कारण लगानी भित्राउन र त्यहाँबाट मुनाफा फिर्ता लैजान समस्या रहेको उनको भनाई छ । विदेश बस्ने नेपालीलाई आफ्नो मुलुकमा जाँदा विभेद हुने गरेको भन्दै त्यसलाई समेत सच्याउनु पर्ने बताए । ‘भाई भिसा लिन लाग्नुपर्छ, दाई सिधै पाउँछ, यस्तो विभागको उदाहरण दिँदै उनले भने, ‘नेपाली भएर भिसा लिनुपर्ने अवस्थामा परिवर्तन गर्नुपर्छ ।’ उनले वंशजको नागरिकता लिएका आधारमा झनै विभेद हुन नहुने बताए ।
नेपाल सरकारले दिएको गैरआवासीय नागरिकता र परिचय पत्र सरकारी अड्डामा नचल्ने भन्दै यसलाई समेत सच्याउनु पर्ने बताए । ‘त्यसबाट जग्गा किन्छु भन्दा पाइदैन, मेरो बाउ बाजेको सम्पत्ती हस्तान्तरण होस् न भन्दा पनि समस्या छ, यो के भएको भन्नेमै प्रश्न छ,’ उनले भने । नीतिगत स्पष्टटाको अभावले यस्तो भएको उनको भनाई छ । नेपालको भूमिमा टेक्ने वित्तिकै गर्व महसुस गराउनु पर्ने भन्दै उनले भने, ‘नेपाली दाजुभाई तिमीमा केही फरक छैन, बराबर व्यवहार हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।’ लगानी गर्न पूर्ण अधिकार दिनुपर्ने उनको भनाई छ ।
अहिले मुलुकले पाँच वर्षे स्थायी सरकार पाएको भन्दै उनले नयाँ सरकारसँग नयाँ ढंगले पुर्ण जोशका साथ काम गर्नुपर्ने बताए । राजनितिज्ञ सुध्रिएमा कर्मचारीतन्त्रमा समेत सुधार आउने उनको विश्वास छ । सो अवसरमा बे एरिया क्षेत्रमा बसोबास गर्ने विभिन्न उद्यम, पेशा, व्यवसाय तथा क्षेत्रसँग सम्बद्ध नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा हर्कुलस सिटीका काउन्सील सदस्य डिल्ली भट्टराई, सान् फ्रान्सिस्कोका महावाणिज्य दूत लक्ष्मण खनाल, उप महावाणिज्य दूत ऋषिराज आचार्य, युसिएसएपफका एशोशियट प्रोफेसर डा. तारा सिग्देल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्ले, समाजसेवी चिनकाजी श्रेष्ठ, मदरल्याण्ड नेपालका अध्यक्ष अनील पाण्डे, अन्तरानेपाल तामांग संघका अध्यक्ष सूरज पाख्रिन, समाजसेवी कृष्ण गिरी, एनआरएनएका निवर्तमान अध्यक्ष हरी ओझा, क्यालिफोर्निया शेर्पा संघका अध्यक्ष गोम्बु शेर्पालगायतले आफ्नो धारणा राखेका थिए ।