समाचार

विराट गोल्डकपको उपाधि झापा–११ लाई

मोरङ, ६ वैशाख । विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ । आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो । उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलका ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल भए । उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी सम्राटका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भई ५१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक झापाका विशाल सुनार र उत्कृष्ट प्रशिक्षकमा सन्तोष बस्नेत घोषित भई १५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा खेल सञ्चालन हुँदै आएको थियो । कोशी प्रदेशका सभामुख अम्बरवहादुर विष्ट, प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, विराटनगर महानगर प्रमुख नागेश कोइराला र ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलगायतले विजेता एवं उपविजेतालाई ट्रफी एवं नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो ।