समाचार

सरकारले कर्मचारीको तलव १५\१५ दिनमा दिने

७ वैशाख, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५–१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनेको हो । महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार यस्तो परिपत्र मन्त्रालयबाट आएको छ । अब उक्त निर्णय चाँडै कार्यान्वयन हुने उनले बताए ।

मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो । हाल सरकारी कर्मचारीहरुले मासिक रुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।

तर अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ ।‘साविकको ऐनमा निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ भन्ने व्यवस्था छ । वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ । त्यसमै १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ ।