समाचार

आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

सिरहाकाे लहान नगरपालिका-२१ कालाबन्जरमा शनिबार साँझ आएको विनाशकारी हावाहुरीले पूर्णरूपमा क्षति भएकाे झुप्रो (घर)को भग्नावशेष देखाउँदै भगुनीदेवी सदाय । मुसहर बस्तीका कुल ४२ घरपरिवारमध्ये हावाहुरीले आधाभन्दा बढी घरमा क्षति पुर्‍याएको छ । पीडित परिवारका लागि लहान नगरपालिकाले आज स्थलगत निरीक्षण गरी त्रिपाल, चामल, नुन र तेलसहितको तत्काल राहत सामग्री हस्तान्तरण गरेको छ । तस्बिर : सुदिप राउत / रासस

७ वैशाख, काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।’ विभागका मौसमविदहरुका अनुसार आज कैलालीको धनगढी, डोटीको दिपायल र बाँकेको नेपालगञ्जमा तातो हावाको लहर चल्ने प्रक्षेपण छ । साथै दाङको घोराही र रुपन्देहीको भैरहवामा पनि तातो दिन हुने सम्भावना छ ।

आज दिउँसो धनगढी, दिपायल र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ । यसैगरी घोराही र भैरहवामा ३६ देखि ३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ । केन्द्रीय राजधानी काठमाडौंमा भने आज दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुग्ने मौसम विज्ञान विभागको अनुमान छ । मौसमविद सन्जिव अधिकारीका अनुसार अन्य ठाउँहरुमा पनि गर्मी बढ्ने सम्भावना देखिएको छ ।

मंगलबार पनि कोशी बाहेकका प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान छ । त्यसैले गर्मीको बेला अनावश्यक रुपमा घरबाहिर ननिस्किन, प्रशस्त पानी पिउन र शरीर छोपिने खालका कपडा लगाउन विज्ञहरुले सुझाव दिएका छन् ।