समाचार

सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजागर गर्ने उद्दश्यले आयोजित तेस्रो संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ ।

काठमाडौंमा २३ जेठबाट शुरु भएको मार्टमा ४३ देशबाट ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवाला सहभागी भएको बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको पाटा नेपाल च्याप्टरले उल्लेख गरेको छ ।

मार्टको अवसर पारी पाटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई विशेष अवार्ड प्रदान गरिएको थियो । उक्त अवसरमा विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया\ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो ।

सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरुको कार्ययोजना लगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति पेस गरेका थिए ।

यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए ।

पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।