मनोरञ्जन

न्युयोर्कमा प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, पर्वत च्याम्पियन

न्युयोर्क, अमेरिका

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर तथा बाग्लुङ स्पोर्ट्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्कस्थित क्वीन्सब्रिज पार्कको भलिबल कोर्टमा आयोजित उक्त प्रतियोगिताले प्रवासी नेपाली समुदायमा खेलकुदमार्फत एकता, भाइचारा र जिल्लागत सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि महाबाणिज्यदूत दधिराम भण्डारी तथा विशिष्ट अतिथि एनआरएनए अमेरिका उपाध्यक्ष आङ छिरिङ शेर्पाले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा बाग्लुङ, म्याग्दी, पर्वत, सिन्धुपाल्चोक, दोलखा, स्याङ्जा, झापा, रुकुम र ताप्लेजुङ लगायत विभिन्न जिल्लाका गरी १२ टोलीको सहभागिता रहेको थियो। बाग्लुङ, म्याग्दी र पर्वतबाट दुई-दुई टोली तथा अन्य जिल्लाबाट एक-एक टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभव गराएका थिए।

दुई दिनसम्म चलेको कडा प्रतिस्पर्धापछि पर्वत जिल्ला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेलमा आयोजक संस्था बाग्लुङको टोलीलाई पराजित गर्दै पर्वतले च्याम्पियन बन्ने गौरव प्राप्त गरेको हो। बाग्लुङले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतियोगिताको विजेता टोलीलाई ३,००० अमेरिकी डलर नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई २,००० अमेरिकी डलर नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

भलिबल प्रतियोगितासँगै नेपाली परम्परा र मनोरञ्जनलाई समेट्ने विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। रस्साकस्सी, घैँटो फोड, म्युजिकल चेयर, भाग्यशाली चिठ्ठा, छेलो फाल्ने प्रतियोगिता तथा सामूहिक बनभोज कार्यक्रमले सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो। विशेषगरी न्युयोर्क नौमती बाजा समूहद्वारा प्रस्तुत पञ्चेबाजा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। पञ्चेबाजाको धुनसँगै नेपाली संस्कृति र परम्पराको झल्कोले कार्यक्रमस्थललाई थप उल्लासमय बनाएको थियो।

महासचिव जीवनदास सुनारका अनुसार प्रतियोगिता तथा अन्य कार्यक्रमहरूमा दुई दिनको अवधिमा करिब ९०० देखि १,००० जनासम्मको सहभागिता रहेको थियो। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, दर्शक, पत्रकार, कलाकार तथा समुदायका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले यस्ता खेलकुदमूलक गतिविधिले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध, एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित रूपमा सञ्चालन गर्दै नेपाली समुदायको साझा उत्सवका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरूको आकर्षक प्रस्तुतिका कारण प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ न्युयोर्कमा नेपाली समुदायको एक सफल, स्मरणीय र ऐतिहासिक खेल महोत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।