फूटबल विश्वकपको महाकुम्भ आजबाट, अहिलेसम्मकै ठूलो ग्लोबल इभेन्ट
२७ जेठ, काठमाडौं । युनिभर्सल गेमका रुपमा परिचित फूटबलको एक उपाधी, विश्वकप, जसलाई उचाल्ने लक्ष्यका साथ महाशक्ति राष्ट्रहरु आजबाट मैदानमा उत्रिँदैछन् । फिफा विश्वकप २०२६ को महासंग्राम उत्तर अमेरिकामा आजबाट शुरु हुँदैछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे शुरु हुनेछ ।
यसपटक ४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना साथ मैदान उत्रिँदैछन् । यसअघि ३२ टोली मात्र खेलाउने गरिएकोमा फिफा विश्वकप २०२६ मा देशहरु थपिएका छन् । यस पटकको मुख्य विशेषता भनेको विश्वकपमा अहिलेसम्मकै धेरै ४८ राष्ट्र सहभागी हुँदैछन् । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । यस्तै टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने एकै विश्वकपमा कीर्तिमानी १०४ खेल हुँदैछ । जुन कतार विश्वकपमा भएको भन्दा ४० खेल बढी हो ।
फिफा विश्वकप २०२६ मा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्रले खेल्दैछन् भने अफ्रिकाबाट १० र एसियाबाट ९ राष्ट्रको सहभागिता हुनेछ । उत्तर र दक्षिण अमेरिकाबाट ६(६ तथा ओसिया क्षेत्रबाट एक टिमले विश्वकप खेल्दैछन् । टिम संख्या बढेपछि यस पटक खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ ।