विश्व

विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

South Africa's Sphephelo Sithol, left, and Mexico's Erik Lira battle for the ball during the World Cup Group A soccer match between Mexico and South Africa in Mexico City, Thursday, June 11, 2026. (AP Photo/Silvia Izquierdo)

काठमाडौँ, २९ जेठ । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका हरायो । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए ।

खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो । ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे । उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाके कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अप्रिकाबा६ट पनि सुरुमै दबाब परेको छ । सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सातपटक मेक्सिकोको यात्रा अन्तिम १६ मा समाप्त भएको थियो ।

सन् १९७० र १९८६ मा भएको विश्वकपमा भने मेक्सिको अन्तिम आठमा पुगेको थियो । यसपटक भने मेक्सिको ती सबै नतिजालाई बिर्सँदै नयाँ इतिहास बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । सन् २०१० पछि दक्षिण अफ्रिका विश्वकपमा पहिलोपटक खेल्दैछ । त्यतिबेलाको विश्वकप दक्षिण अफ्रिका आफैँले आयोजना गरेको थियो । त्यतिबेला दक्षिण अफ्रिका समूह चरणको खेलबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिका करिब १६ वर्षपछि विश्वकपमा फर्किएको हो ।

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हँुदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

आजदेखि सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा यो प्रतियोगिता समापन हुनेछ । विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन मेक्सिको सिटी, क्यानडाको टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोहमा हुनेछ । तीनवटै आयोजक राष्ट्रले आ–आफ्नो देशको संस्कृति, इतिहास र पहिचानलाई प्रस्तुत गर्नेछन् ।

मेक्सिको सिटीमा आज हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तरराष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए । अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ । उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाट गर्नेछ । उक्त खेल नेपाली समयअनुसार भोली बिहान ६ः४५ बजे हुनेछ ।

त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेको अनुभव छ ।