विश्व

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

File : A small boat loaded with merchandise sails past the St Kitt's and Nevis-flagged container ship Marsa Victory while crusing in the waters of the Strait of Hormuz off the coast of Khasab in Oman’s northern Musandam peninsula on June 25, 2025. (Photo by Giuseppe CACACE / AFP)

इस्लामावाद, ३० जेठ (रासस–सिन्ह्वा) । अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् ।

टेलिफोन कुराकानीका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताका बारेमा छलफल भएको र यस प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “साउदीको विदेश मन्त्रीले वार्ता प्रक्रियाको क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।”

दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा हुने चार देशका विदेश मन्त्रीहरूको बैठकको तयारीबारे पनि छलफल गरेका पनि विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तानले यस क्षेत्रमा वार्ता प्रवद्र्धन गर्ने र तनाव कम गर्ने कूटनीतिक प्रयासलाई सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।