समाचार

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला । पहाडको टाकुरामा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सुर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि प्रसिद्ध छ । तस्बिर : सन्तोष गौतम\रासस

काठमाडौँ, ६ असारः हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।

मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।