अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री
२१ असार, अबुधाबी । युनाइटेड अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले कार्यभार सम्हालेको झण्डै ३ वर्ष पुगेको छ । उनले सन् २०२३ सेप्टेम्बर २८ मा नेपाली दूतावासको कार्यभार सम्हालेका हुन् । त्यसको केही दिनपछि अक्टोबर ४ मा उनले यूएईका राष्ट्रप्रमुखसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै औपचारिक रुपमा राजदूतको जिम्मेवारी ग्रहण गरेका थिए ।
करिब तीन दशक लामो कूटनीतिक अनुभव बोकेका राजदूत क्षेत्रीले परराष्ट्र मन्त्रालयका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । राजदूत नियुक्त हुनुअघि उनी सन् २०२२ देखि २०२३ सम्म परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा कार्यरत थिए ।
सन् २०२१ मा सहसचिवमा बढुवा भएका उनले मन्त्रालयको प्रशासन महाशाखामा जिम्मेवारी सम्हालेका थिए । त्यसअघि सन् २०१८–२०१९ मा प्रशासन शाखा प्रमुख तथा सन् २०१८ देखि २०२१ सम्म तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख निजी सचिवका रुपमा कार्य गरेका थिए । उनले सन् २०१६ देखि २०१७ सम्म परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाअन्तर्गत उप–प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
राजदूत क्षेत्रीले सन् १९९८ मा परराष्ट्र सेवामा शाखा अधिकृतका रुपमा प्रवेश गरेका हुन् । सेवाकालमा उनले मन्त्रालयका पश्चिम एसिया तथा अफ्रिका, उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी तथा सुदूरपूर्व एसिया, प्रशान्त क्षेत्र, दक्षिण एसिया, प्रोटोकल र प्रशासन लगायतका विभिन्न महाशाखामा कार्य अनुभव हासिल गरेका छन् । उनले राहदानी विभागमा निर्देशक (उपसचिव)का रुपमा पनि जिम्मेवारी सम्हालेका थिए ।
विदेशस्थित नेपाली नियोगहरुमा पनि उनको लामो अनुभव छ । उनले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा सन् २००२ देखि २००६ सम्म द्वितीय सचिव तथा प्रथम सचिवका रुपमा काम गरेका थिए । त्यसपछि चीनको तिब्बतस्थित ल्हासामा नेपाली महावाणिज्य दूतावासमा सन् २००८ देखि २०१० सम्म महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०१२ मा उनी बेलायतको लण्डनस्थित नेपाली दूतावासमा मिनिस्टर–कन्सुल (वाणिज्यदूत मन्त्री) तथा उपनियोग प्रमुख नियुक्त भए । सन् २०१४ मार्चदेखि २०१६ जुनसम्म उनले कार्यवाहक राजदूतका रुपमा नेपाली दूतावासको नेतृत्वसमेत गरेका थिए ।
राजदूत क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । साथै उनले मानविकी तथा शिक्षा विषयमा स्नातकसमेत गरेका छन् । राजदूत क्षेत्रीकी पत्नी रीता क्षेत्री हुन् । उनका एक छोरी स्वेच्छा क्षेत्री र एक छोरा अंकित क्षेत्री छन् ।
नेपालको परराष्ट्र सेवामा झण्डै तीन दशकको अनुभव, प्रोटोकल, प्रशासन तथा द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा हासिल गरेको दक्षताका कारण राजदूत तेजबहादुर क्षेत्रीलाई नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन सक्षम कूटनीतिज्ञका रुपमा हेरिएको छ । यूएईमा ठूलो संख्यामा रहेका नेपाली श्रमिक, व्यवसायी तथा प्रवासी समुदायसँग सम्बन्धित विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्दै दुई देशबीचको आर्थिक, श्रम, लगानी तथा कूटनीतिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।