श्रमिकको प्रश्न, श्रमिककै जवाफ
२१ असार, काठमाडौं । सुजन बर्मा सोध्नुहुन्छ :
म दुबई आएको १६ महिना भयो । अहिले काम गरिरहेको कम्पनीको भन्दा झण्डै दोब्बर तलबमा अर्को कम्पनीमा काम पाएको छु । मैले नयाँ कम्पनीमा काम गर्न पाउँछु कि पाउँदिन ? कम्पनी परिवर्तन गर्न के–के गर्नुपर्छ ?
बेदप्रसाद अर्यालको जवाफ :
यूएईको श्रम कानुनअनुसार रोजगार सम्झौता समाप्त भएपछि वा रोजगारदाता र कर्मचारीबीच आपसी सहमतिमा करार अवधिभित्र नै सम्झौता अन्त्य भएमा श्रमिकले नयाँ कम्पनीमा काम गर्न सक्छन् । यसका लागि रोजगार सम्झौतामा उल्लेख भएको ३० देखि ९० दिनसम्मको नोटिस अवधि पूरा गर्नुपर्छ ।
नोटिस अवधि पूरा नभए कम्पनीलाई क्षतिपूर्ति तिर्नुपर्ने वा कानुनी समस्या आउन सक्छ । बीचमै अर्को कम्पनीमा जानु परेमा कम्पनीको सहमतिमा नै नयाँ कामको छनौट गरेको उत्तम हुन्छ । ‘स्किल्ड’ कामदारहरुले आपसी सहमतिमा ६ महिना पछि पनि कम्पनी परिवर्तन गर्न सक्छन् ।
रोजगारदाता परिवर्तन गर्न नयाँ कम्पनीबाट अफर लेटर प्राप्त गरेपछि हालको कम्पनीमा लिखित राजीनामा दिनुपर्छ । नोटिस अवधि पूरा भएपछि पुरानो कम्पनीले वर्क परमिट, लेबर कार्ड र रेसिडेन्सी भिसा रद्द गर्छ । त्यसपछि नयाँ कम्पनीले ःइज्च्भ् मार्फत नयाँ वर्क परमिट र भिसा प्रक्रिया अघि बढाउँछ । कानुनी प्रक्रिया पूरा गरेमा सामान्यतया ‘लेबर ब्यान’ लाग्दैन । तर सम्झौता उल्लंघन गरेमा एक वर्षसम्मको वर्क परमिट प्रतिबन्ध लाग्न सक्ने व्यवस्था छ ।
(सामाजिक क्षेत्रमा सक्रिय अर्याल २५ वर्षदेखि यूएईमा कार्यरत हुनुहुन्छ)