यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरू
बद्री भण्डारी
२१ असार, यूएई । यूएई अर्थात् संयुक्त अरब इमिरेट्स, विशेषगरी दुबई, आज विश्वकै प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रहरुमध्ये एक हो । सन् १९७१ मा स्थापना भएदेखि यस देशले हासिल गरेको अभूतपूर्व आर्थिक सफलता र विकासमा विश्वका विभिन्न देशका उद्यमी तथा श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको छ । यस क्रममा नेपाली श्रमिक तथा व्यवसायीहरुको योगदान पनि उल्लेखनीय छ ।
सामान्यतया नेपालीहरु रोजगारी वा भिजिट भिसामा यूएई आउने गरेको पाइन्छ । त्यसैले यहाँ नेपालीहरुको ठूलो स्तरको लगानी गर्ने अवस्था अझै व्यापक रुपमा विकसित भइसकेको छैन । तथापि, पछिल्ला वर्षहरुमा नेपालीहरुले सञ्चालन गरेका साना तथा मझौला व्यवसायहरुको संख्या निरन्तर बढिरहेको छ ।
यो नेपाली समुदायका लागि सकारात्मक संकेत हो । किनभने, यूएईमा नेपालीहरु केवल श्रमिक मात्र हुन् भन्ने पुरानो धारणा परिवर्तन हुँदै नेपालीहरु सफल व्यवसायी तथा उद्यमीका रुपमा पनि स्थापित भइरहेका छन् । अब यूएईमा नेपालीको लागि नयाँ व्यवसाय स्थापनाका अवसर र चुनौतीहरुबारे चर्चा गरौं ।
अवसरहरु

१. करमैत्री वातावरण
यूएई विश्वका करमैत्री देशहरुमध्ये एक मानिन्छ । यहाँ व्यक्तिगत आयकर (इनकम ट्याक्स) लाग्दैन । यसले उद्यमीहरुलाई आफ्नो आम्दानीको ठूलो हिस्सा व्यवसाय विस्तार तथा पुनः लगानी गर्न सहयोग पु¥याउँछ ।
२. अन्तर्राष्ट्रिय बजारमा पहुँच
यूएई एसिया, यूरोप र अफ्रिकालाई जोड्ने महत्वपूर्ण व्यापारिक केन्द्र हो । यहाँबाट व्यवसाय सञ्चालन गर्दा अन्तर्राष्ट्रिय ग्राहक तथा साझेदारहरुसम्म पुग्न सहज हुन्छ ।
३. स्थिर अर्थतन्त्र र सुरक्षित लगानी वातावरण
राजनीतिक स्थिरता, आधुनिक पूर्वाधार तथा स्पष्ट व्यावसायिक नीतिका कारण यूएई विदेशी लगानीकर्ताहरुको आकर्षणको केन्द्र बनेको छ ।
४. बहुसांस्कृतिक बजार
यूएईमा दुई सयभन्दा बढी राष्ट्रियताका मानिसहरु बसोवास गर्छन् । यसले विभिन्न संस्कृति, स्वाद र आवश्यकतालाई लक्षित गरी नयाँ व्यवसाय शुरु गर्ने अवसर प्रदान गर्दछ ।
५. डिजिटल तथा प्रविधि क्षेत्रको विकास
E-commerce, Digital Marketing, Information Technology, Artificial Intelligence, Logistics, Education Technology tyf Financial Technology जस्ता क्षेत्रमा तीव्र विकास भइरहेको छ । नेपाली उद्यमीहरुले पनि यी क्षेत्रमा सम्भावना खोज्न सक्छन् ।
६. नेपाली समुदायको विस्तार
यूएईमा ठूलो नेपाली समुदायको उपस्थिति छ । नेपाली खाद्यान्न, रेस्टुरेन्ट, ट्राभल, रेमिट्यान्स, शिक्षा तथा अन्य सेवामूलक व्यवसायका लागि यो महत्वपूर्ण बजार हुन सक्छ ।
चुनौतीहरु
१. उच्च सञ्चालन खर्च
व्यवसाय दर्ता, लाइसेन्स, कार्यालय भाडा, कर्मचारी व्यवस्थापन तथा अन्य प्रशासनिक खर्च अपेक्षाकृत महँगा हुन सक्छन् ।
२. कडा प्रतिस्पर्धा
यूएई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र भएकाले विश्वभरका व्यवसायीहरु यहाँ सक्रिय छन् । नयाँ व्यवसायीले बजारमा स्थान बनाउन कडा प्रतिस्पर्धाको सामना गर्नुपर्छ ।
३. कानुनी तथा नियामकीय प्रक्रिया
व्यवसायको प्रकृतिअनुसार विभिन्न अनुमति तथा लाइसेन्स आवश्यक पर्न सक्छन् । नियमहरुको राम्रो जानकारीबिना व्यवसाय सञ्चालन गर्न कठिन हुन सक्छ ।
४. वित्तीय व्यवस्थापन
नयाँ व्यवसायमा प्रारम्भिक लगानी, नगद प्रवाह (ऋबकज ँयिध) व्यवस्थापन तथा बजार विस्तारका लागि पर्याप्त पूँजी आवश्यक पर्न सक्छ ।
५. बजारको निरन्तर परिवर्तन
ग्राहकको आवश्यकता, प्रविधि र व्यापारिक प्रवृत्ति तीव्र रुपमा परिवर्तन भइरहेका हुन्छन् । त्यसैले व्यवसायलाई समयानुकूल अद्यावधिक गर्दै लैजानुपर्ने हुन्छ ।
निष्कर्ष
यूएई नेपाली उद्यमीहरुका लागि अवसरले भरिएको बजार हो । करमैत्री वातावरण, अन्तर्राष्ट्रिय पहुँच, आधुनिक पूर्वाधार तथा बहुसांस्कृतिक समाजले नयाँ व्यवसाय शुरु गर्न चाहनेहरुका लागि राम्रो सम्भावना सिर्जना गरेको छ । तर सफल हुनका लागि पर्याप्त अध्ययन, स्पष्ट योजना, कानुनी जानकारी र दीर्घकालीन दृष्टिकोण आवश्यक छ ।
आज यूएईमा नेपालीहरु केवल श्रमिकको रुपमा मात्र नभई सफल व्यवसायी र उद्यमीको रुपमा पनि आफ्नो पहिचान स्थापित गर्दैछन् । यो परिवर्तनले सम्पूर्ण नेपाली समुदायको सामाजिक तथा आर्थिक छविलाई सकारात्मक दिशा प्रदान गरिरहेको छ ।
त्यसैले अध्ययन गरेर दीर्घकालीन योजनासहित व्यवसाय गर्न चाहने नेपालीहरुका लागि यूएई राम्रो गन्तव्य बन्न सक्छ ।
भण्डारी व्यवसायी हुन्