समाचार

चुनौती चिर्दै, सफलता चुम्दै : उद्यमी रमेश श्रेष्ठको प्रेरणादायी यात्रा

२२ असार, यूएई । स्याङ्जाको सामान्य परिवारमा हुर्किएका रमेश श्रेष्ठले आफ्नो जीवनमा सफलता कुनै सहज यात्राबाट हासिल गरेका होइनन् । संघर्ष, असफलता, धैर्य र निरन्तर प्रयासको लामो शृङ्खलापछि उनी आज यूएईको नेपाली समाजदेखि अन्तर्राष्ट्रिय स्तरमा परिचित नेपाली उद्यमी तथा सामाजिक अभियन्ताका रुपमा स्थापित भएका छन् । उनको जीवनयात्राले एउटा स्पष्ट सन्देश दिन्छ– सफलता परिस्थितिले होइन, निरन्तर प्रयासले निर्धारण गर्छ ।


रमेश श्रेष्ठको बाल्यकाल साधारण नेपाली परिवारमा बित्यो । परिवारले उनलाई इमानदारी, अनुशासन र मेहनतका मूल्य सिकायो । व्यवसायमा संलग्न रहेका उनका बुवाले व्यापारसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्थे । यही वातावरणले रमेशमा सानैदेखि जिम्मेवारीबोध, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वको भावना विकास गरायो । उनी केवल पढाइमा मात्र सीमित रहेनन्, परिवारको व्यवसायमा पनि सहभागी भए । व्यापार सञ्चालन, ग्राहकसँगको व्यवहार र निर्णय क्षमताका प्रारम्भिक अनुभवले उनलाई व्यावहारिक जीवनका महत्वपूर्ण पाठ सिकायो ।


एसएलसी उत्तीर्ण गरेपछि उनले कमर्श विषयमा अध्ययनलाई निरन्तरता दिए । अध्ययनसँगै व्यवसायमा सक्रिय रहँदा उनले उद्यमशीलताको वास्तविक अर्थ बुझ्न थाले । कलेज जीवनमा उनी विभिन्न सामाजिक तथा विद्यार्थी गतिविधिमा पनि सहभागी भए । जिल्लास्तरका संघसंस्थामा सक्रिय भूमिकाले उनको नेतृत्व क्षमता अझ परिष्कृत बनायो । यही अनुभवले भविष्यमा सामाजिक र व्यावसायिक दुवै क्षेत्रमा नेतृत्व गर्ने आत्मविश्वास प्रदान ग¥यो ।


सन २००१ तिर उनले औपचारिक रुपमा आफ्नै व्यवसाय शुरु गरे । पोखरा र स्याङ्जामा इलेक्ट्रिकल सामग्री वितरणको कामबाट उद्यमशीलताको यात्रा अघि बढाए । तर त्यो समय नेपाल द्वन्द्वको चपेटामा थियो । राजनीतिक अस्थिरता र असुरक्षाले व्यापारमा प्रत्यक्ष असर पा¥यो । उनले करिब २० लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुप¥यो । धेरैका लागि यस्तो अवस्था अन्तिम हार बन्न सक्थ्यो । तर श्रेष्ठले त्यसलाई अन्त्य होइन, नयाँ शुरुवातका रुपमा लिए । असफलताले उनलाई निराश बनाउनुको सट्टा थप परिपक्व बनायो ।


अन्ततः सन् २००८ मा उनले दुबई जाने निर्णय गरे । त्यहाँ उनले रोड्स एण्ड ट्रान्सपोर्ट अथोरिटी (आरटीए) अन्तर्गत बस चालकका रुपमा काम शुरु गरे । मासिक चार हजार सात सय दिराम तलब पाउने यो जागिरले आर्थिक आधार त दियो, तर जीवन भने सहज थिएन । बिहानदेखि रातिसम्मको कडा मेहनत, परिवारबाट टाढा बस्नुपर्ने पीडा र नयाँ वातावरणसँग घुलमिल हुनुपर्ने चुनौतीले प्रारम्भिक समय निकै कठिन बनायो ।


केही वर्ष उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण चरणमध्ये एक थियो । तर उनले कठिनाइसँग सम्झौता गरेनन्, बरु त्यसलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरे । पछि परिवारलाई पनि दुबई ल्याएपछि मानसिक रुपमा थप सशक्त बने । परिवारको साथले उनीभित्र नयाँ ऊर्जा थपियो । यही अवधिमा उनले अनुशासन, समय व्यवस्थापन र जिम्मेवारीको महत्वलाई अझ गहिरोसँग आत्मसात् गरे ।
दुबई बसाइका क्रममा उनले वैदेशिक रोजगारी र मानव संसाधन व्यवस्थापनको क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाए ।

अनुभव बढ्दै जाँदा उनले आफ्नै रिक्रुटमेन्ट व्यवसाय सञ्चालन गर्ने योजना बनाए । विभिन्न कम्पनीमा काम गर्दै आवश्यक ज्ञान र अनुभव संकलन गरेपछि सन् २०१५ मा उनले ‘डेस्टिनी ह्युमन रिसोर्स’ स्थापना गरे । यही कम्पनीमार्फत नेपाली युवालाई वैदेशिक रोजगारीका अवसर उपलब्ध गराउन थाले । नेपाली कामदारको मेहनत, इमानदारी र सीप अन्तर्राष्ट्रिय बजारमा विश्वासिलो रहेको अनुभवले उनको व्यवसायलाई विस्तार गर्न सहयोग पु¥यायो । क्रमशः उनले भारत, श्रीलंका, भियतनाम, इन्डोनेसिया लगायतका देशबाट समेत जनशक्ति व्यवस्थापन गर्ने काम शुरु गरे ।


व्यवसायसँगै रमेश श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय रहे । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईमा उनले विभिन्न जिम्मेवारी सम्हाले । उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीसम्म पुग्दा उनले नेपाली समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी यूएईमा एनआरएनएलाई आधिकारिक रुपमा दर्ता गराउने प्रक्रियामा उनको नेतृत्वलाई उल्लेखनीय उपलब्धिका रुपमा हेरिन्छ । उनका लागि सामाजिक सेवा व्यवसायभन्दा अलग विषय होइन, समाजप्रतिको दायित्वको निरन्तरता थियो ।


तर सफलता हासिल गर्ने क्रममा उनले फेरि अर्को ठूलो चुनौतीको सामना गर्नुप¥यो । सन् २०१४ तिर निर्माण क्षेत्रमा प्रवेश गर्दै ‘कन्स्ट्रक्सन कम्पनी’ स्थापना गरे । व्यवसाय विस्तार गर्ने उद्देश्यले शुरु गरिएको यो प्रयास साझेदारसँगको विवादका कारण असफल भयो । करिब ३० लाख दिराम बराबरको आर्थिक क्षति मात्रै होइन, कानुनी झन्झटसमेत बेहोर्नुप¥यो । यो उनको जीवनको अत्यन्त कठिन मोड थियो । तर विगतका अनुभवले उनलाई एउटा कुरा सिकाइसकेको थियो– असफलता स्थायी हुँदैन । उनले निर्माण क्षेत्रबाट बाहिरिने निर्णय गरे र फेरि आफ्नो मुख्य दक्षता रहेको रिक्रुटमेन्ट व्यवसायमै केन्द्रित भए ।


त्यसपछि उनले ‘जीसीडी वल्र्डवाइड’ स्थापना गर्दै व्यवसायलाई नयाँ ढंगले विस्तार गर्न थाले । यूएईमा जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र जीसीडी डकुमेन्ट सर्भिसेज स्थापना गरे । सन् २०१६ मा जीसीडी क्लिनिङ कम्पनी एलएलसी शुरु गर्दै सेवा क्षेत्रमै अर्को सफल पाइला चाले । बिस्तारै उनका कम्पनीहरुले स्थायित्व प्राप्त गरे र अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता स्थापित गर्न सफल भए ।


कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रलाई गम्भीर रुपमा प्रभावित बनाएको बेला पनि रमेश श्रेष्ठले व्यवसायलाई रोकेनन् । चुनौतीका बीच नयाँ अवसर खोज्दै उनले युरोपेली मुलुकहरु– क्रोएसिया, पोल्याण्ड, लिथुआनिया, हंगेरी र माल्टा लगायतमा नेपाली कामदार पठाउने प्रक्रिया शुरु गरे । बदलिँदो श्रम बजारअनुसार व्यवसायलाई रूपान्तरण गर्ने क्षमताले उनलाई अन्य उद्यमीभन्दा फरक बनायो । आज उनका कम्पनीमार्फत हरेक वर्ष हजारौं नेपालीले वैदेशिक रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । अहिले उनको कम्पनीमा २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।


हाल नेपाल, यूएई, भारत लगायत विभिन्न देशमा उनका कार्यालय सञ्चालनमा छन् । सयौं कर्मचारीको टोलीसँग उनले अन्तर्राष्ट्रिय स्तरको मानव संसाधन व्यवस्थापन व्यवसाय सञ्चालन गरिरहेका छन् । व्यवसाय विस्तारसँगै उनले रोजगारी सिर्जना, सीप विकास र नेपाली श्रमिकलाई सुरक्षित वैदेशिक रोजगारीमा जोड्ने कामलाई प्राथमिकतामा राखेका छन् ।


सयौं नेपालीलाई वैदेशिक रोजगारीमा जोड्ने रिक्रुटमेन्ट व्यवसाय सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम भएको रमेश श्रेष्ठ बताउँछन् । ठूलो संख्यामा श्रमिकसँग काम गर्दा कहिलेकाहीँ समस्या देखिनु स्वाभाविक भए पनि त्यस्ता समस्या संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो उद्देश्य श्रमिकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो,’ श्रेष्ठ भन्छन् । व्यवसायको मूल उद्देश्य नाफा मात्र नभई नेपाली श्रमिकलाई रोजगारीको अवसरसँग जोड्दै उनीहरुको हितमा काम गर्नु रहेको उनको दाबी छ ।


व्यवसायसँगै रमेश श्रेष्ठ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकका रुपमा कार्यरत छन् । यस भूमिकामार्फत उनले मध्यपूर्वमा रहेका नेपाली समुदायका हकहित, श्रमिक कल्याण तथा संगठन सुदृढीकरणका विषयमा सक्रिय रुपमा काम गरिरहेका छन् ।


रमेश श्रेष्ठको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन । यो असफलताबाट उठ्ने साहस, परिस्थितिलाई अवसरमा बदल्ने दृष्टिकोण र निरन्तर संघर्षको उदाहरण पनि हो । उनले भोगेका चुनौतीहरुले देखाउँछन् कि व्यवसायमा जोखिम अपरिहार्य हुन्छ, तर सही निर्णय, धैर्य र आत्मविश्वासले कठिन परिस्थितिलाई पनि पार गर्न सकिन्छ । परिवारको साथ, अनुशासन, इमानदारी र स्पष्ट लक्ष्यप्रतिको प्रतिबद्धताले नै सफलताको आधार तयार गर्छ भन्ने सन्देश उनको यात्राले दिन्छ ।


सानो शहरबाट शुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय उद्यमशीलताको पहिचानसम्म पुगेको छ । संघर्षका अनेक अध्याय पार गर्दै उनले आफू मात्र होइन, हजारौं नेपालीका लागि रोजगारी र आशाको ढोका खोल्ने काम गरेका छन् । यही कारण रमेश श्रेष्ठको जीवनकथा केवल सफल व्यवसायीको परिचय होइन, संघर्षरत युवाका लागि प्रेरणाको स्रोत पनि बनेको छ । कठिनाइलाई हार होइन, सिकाइका रुपमा स्वीकार गर्ने र अवसरलाई मेहनतसँग जोड्ने जो–कोहीका लागि उनको यात्रा अनुकरणीय उदाहरण बनेर उभिएको छ ।